धुवाँको प्रदूषणबाट के सिक्ला सरकारले ? चार काम गरौँ नियन्त्रणमा सहयोग पुग्छ

काठमाडौं । चैत १३ गतेबाट काठमाडौं उपत्यका लगायत देशका धेरै भेगमा वायु प्रदूषणको कारण जनजीवन नै अस्तव्यस्त भयो । मानव स्वास्थ्यमा गम्भीर असर गर्ने प्रदूषित वायुले दीर्घरोगीलाई निकै कठिन बनायो ।स्कुल, कलेज लगायत शिक्षण संस्था बन्द गर्नुपर्ने अवस्था सृजना भयो ।

यो वायु प्रदूषणको मुख्य कारण ठाँउ ठाँउमा लागेको डढेलोलाई मानियो । डढेलोको कारण नै वायु प्रदूषण भएको धेरै मानिसहरूको तर्क छ । नेपालका ५० प्रतिशतभन्दा धेरै घरधुरीले अहिले पनि खाना बनाउन दाउरा, गुइँठा लागयतका स्रोत प्रयोग गर्दै आएका छन् । अद्यौगिक कलकारखानाको संख्या अत्यन्त कम छ भने जनसंख्याको आधारमा मोटर गाडीको संख्या समेत अत्यन्त न्यून छ । तर, पनि संसारकै सबैभन्दा वायु प्रदूषण भएको सहरमा काठमाडौं सूचीकृत भएको छ ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो । जलवायु परिवर्तनको कारण हाम्रा हिमतालहरू उच्च जोखिममा रहेको रिपोर्टहरू बाहिर आइरहेका छन् । नेपाल सरकारले एक दशकअघि बाटै प्रदूषण रोकथामको लागि भन्दै नागरिकसँग कर पनि उठाउँदै आएको छ । तर, यसको प्रयोगमा कुनै ठोस काम गर्न सकेको छैन ।

नेपाल सरकारले पेट्रोलियम पदार्थको प्रयोगमा लगाएको प्रदूषण कर ११ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी संकलन भएको तथ्यांक नेपाल आयल निगमले नै सार्वजनिक गरेको छ । यो रकम कहाँ र कसरी प्रयोग गर्ने भन्ने विषयमा सरकारले ठोस कार्ययोजना निर्माण गरेर काम गर्न सकेको छैन । सरकारले दीर्घकालीन योजना निर्माण गरेर यस क्षेत्रमा काम गर्नु पर्ने अवस्था रहेको छ । सरकारले काम गर्न सके धेरै हदसम्म प्रदूषण नियन्त्रणमा आउन सक्छ ।

१. विद्युतीय सवारीसाधनको प्रयोग बढाउने

विद्युतीय सवारी साधनको प्रयोग बढाउन संसारभरका सरकारले खरीदकर्तालाई अनुदान दिइरहेका छन् । तर, नेपाल सरकाले चालू आर्थिक वर्षबाट नै यस्ता साधनमा लाग्ने अन्तःशुल्क, भन्सार र सडक निर्माण दस्तुरमा वृद्धि गरेको छ । यसले हाम्रो सफा र स्वच्छ सहर निर्माणमा कतै सहयोग गर्दैन ।

उपत्यकाको हकमा सबैभन्दा बढी वायु प्रदूषण सवारी साधनबाट निस्कने धुवाँले हुन्छ । अहिले पनि नेपालमा यूरो २ मापदण्डका ठूला सवारीसाधन गुडी रहेका छन् भने यूरो ३ वा सो सरहका मात्रै ठूला सार्वजनिक यातायात संचालनमा रहेका छन् ।

यस्ता ठूला सवारी साधन भारतमा नै यूरो ५ मापदण्डभन्दा माथि (बीएस ६) मापदण्डका संचालनमा आइसकेका छन् । यस्तोमा नेपाल सरकारले नेपाल प्रदूषण मापदण्ड ३ बाट माथि उक्लेर ४ वा ५ लागु गर्नु पर्छ । यसले हामीले आयात गर्ने सवारी साधन केहि महंगा भए पनि वातावरणीय हिसाबले उत्कृष्ट मानिन्छन् ।

२. हरेक घरमा खाना पकाउन क्लीन इनर्जीको प्रयोग

दाउरा, गुइँठा लगायतका बस्तुको प्रयोगबाट अहिले पनि नेपालका ५० प्रतिशत घरधुरीमा खाना पकाउने गरिन्छ । यसले वातावरणमा धेरै ठूलो प्रभाव पारिरहेको हुन्छ । यसलाई रोक्न विद्युतीय चुलोको प्रयोग बढाउनुको अर्को विकल्प छैन । तर, अहिले जुन मूल्यमा विद्युत किन्नु पर्ने अवस्था छ त्यो मूल्य हरेक नेपालीले तिर्न सक्ने अवस्था छैन ।

विद्युतीय चुलोको पहुँच विस्तारको लागि घरधुरी पहिचानगरी उनीहरूलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउनु पर्छ । उनीहरूलाई दिइने सहुलियत रकम प्रदूषण नियन्त्रण कोषबाट चलाउन सकिन्छ ।

३. उद्योग र कलकारखानाबाट हुने प्रदूषण नियन्त्रमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने 

अहिले कै अवस्थामा नेपालमा उद्योगले गर्ने प्रदूषण न्यून रहे पनि हाम्रो अर्थतन्त्र सबल बन्दै जाने क्रममा उद्योग, कलकारखाना खोल्नुको विकल्प छैन । यस्ता कलकारखानाले गर्ने प्रदूषण व्यापक र भयानक हुन्छन् । अहिले औद्योगिक क्षेत्रमा अब्बल रहेको चीन र भारतलाई नै हेर्ने हो भने पुग्छ ।

विश्वका ५० प्रदूषित सहरमा चीन भारतका सहरको हिस्सा ९० प्रतिशत रहेको छ । तर, यूरोप र अमेरिकामा पनि उद्योग छन् । उनीहरूले कसरी प्रदूषण रोक्न सफल भएका छन् भन्ने विषयमा गहिरो अध्ययन गर्न ढिला भइसकेको छ । त्यहाँको राम्रा प्रयोगलाई हामीले पनि यहाँ प्रयोग गर्दै अगाडि बढ्नु पर्छ ।

४. फोहोर बाल्ने र जंगलमा हुने आगलागी नियन्त्रमा ध्यान दिने 

अहिले देखिएको समस्या आगलागीबाट सृजित भनिएको छ । यसलाई कम गर्न आगलागी नियन्त्रणमा हाम्रा औजारहरू दुरुस्त हुनु पर्छ । अहिले लागेको सामान्य आगो निभाउन पनि हामीले सकिरहेका छैनौ । पछिल्ला ३ दशकमा नेपालमा जंगल संरक्षण निकै राम्रो भएको छ । यस्ता घना जंगलमा लाग्ने डढेलो रोक्न भने हामीले आधुनिक प्रविधि प्रयोग गर्न सकेका छैनौ । यसमा आवश्यक उपकरण खरीद गरेर बलियो बन्नु पर्ने अवस्था छ ।

अर्को देख्दा सामान्य लाग्ने तर, फोहोर बालेर निस्कने धुँवा जंगलमा लाग्ने डढेलोभन्दा कयौं गुणा खतरनाक छ । यसलाई नियन्त्रण गर्न जनचेतना र अटेर गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ । यो दिशामा नेपाल सरकार लाग्नु पर्छ ।

माथि उल्लेख गरिएका काममा आजैबाट काम गर्ने हो भने नेपालमा हुने जलवायु परिवर्तनलाई केहि हदसम्म हामीले नियन्त्रण गर्न सक्छौं । अन्यथा प्रदूषणको कारण नागरिकलाई महिनाैं दिन घरमा थुनेर राख्नु पर्ने दिन चाँडै आउने देखिन्छ ।


Back_to_top