काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ओलाका दुई स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि सुरु भएको नाडा ईभी एक्स्पोमा सार्वजनिक गरको हो ।
कम्पनीले भारतको चर्चित राइड एण्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान र एस वान प्रो मोडल नेपालमा सार्वजनिक गरेको हो । यी दुबै स्कुटरमा धेरै समानता भएपनि मूल्य र रेन्जमा भने भिन्नता पाउन सकिन्छ ।

लामो समयदेखि भारतमा उत्पादन कम र माग ज्यादा भएका कारण ओला ब्राण्ड नेपाल ल्याउन सम्भव भएको थिएन । हाल ओलाले आफ्नो उत्पादन क्षमता वृद्धि गरेसँगै नेपाल भित्रिएको हो ।
दुबै एस वान र एस वान प्रो स्कुटरमा समान ८.५ किलोवाट क्षमताको मोटर उपलब्ध रहेको छ । यी दुबै स्कुटरको टर्क पनि समान ५८ एनएम छ भने ब्याट्री एस वानमा २.९८ किलोवाट आवर र प्रोमा ३.९७ किलोवाट आवर रहेको छ । एस वान प्रोमा ठूलो ब्याट्री रहेको कारण रेन्ज पनि धेरै दिन्छ ।

यी दुई मध्ये एस वान स्कुटरको मूल्य ३ लाख ७५ र एस वान प्रोको मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।
दुबै स्कुटरमा अगाडि २२० एमएमको डिस्क र पछाडि १८० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । १२ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि सिंगल फर्क र पछाडि मोनोसक सस्पेन्स पाउन सकिन्छ । दुबै स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ । दुई स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।





