काठमाडौं । सेगवेको नयाँ स्कुटर ई ११० नेपालमा सार्वजनिक भएको छ । सेगवे नाइनवट इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले आजदेखि सुरू भएको नाडा ईभी शोमा ई ११० स्कुटर सार्वजनिक गरेको हो ।
अहिले कम्पनीले ई १०० र ई १२५ इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । सेगवे ई ११० एसमा २.४ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टर्क भने ८८ एनएम छ ।

कम्पनीले यसमा १.४४ किलोवाट क्षमताको लिथियम आयोन सिंगल ब्याट्री दिएको छ । सानो मोटर भएको कारण यसले सिंगल चार्जमा १०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।
यसमा रहेको ब्याट्रीलाई ३ घन्टामा ८० प्रतिशत र ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो स्कुटर दुवै ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक पाउन सकिन्छ ।

इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम र सबै प्रकारका लाइटहरु एलइडी रहेको ई ११० मा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहने छ ।
त्यस्तै यसमा यूएबी चार्जिङ पोर्ट, स्मार्ट ह्यान्डलबार लक, पार्किङ सेन्सर, कनेक्टिभिटी फिचर, १२ इन्च अलोय ह्वील, राइडिङ मोड, क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले ई ११० को विक्री मूल्य ३ लाख ५० रुपैयाँ निर्धारण गरेको छ । आई हव प्रालिले हाल ई १०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ र सगवे ई १२५ को मूल्य ३ लाख ९१ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


