काठमाडौं । सुजुकी टु ह्वीलर्सको आधिकारीक वितरक भिजि सुजुकीले बजेट पछि मोटरसाइकलको नयाँ मूल्यसूची प्रकाशन गरेको छ । बजेटले गरेको नयाँ ब्यवस्था अनुसार आफ्ना उत्पादनहरुको मूल्य बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले सबैभन्दा धेरै सुजुकी इन्टुडरमा २० हजार रुपैयाँ बढाएको छ । सुजुकीले आफ्नो सबैभन्दा लोकप्रिय मोडल जिक्सरमा भने मूल्य बृद्धि नगरेको जनाएको छ ।
कुन बाइकमा कति बढ्यो
१५० सीसी क्षमताको सुजुकी इन्टुडर बाइकमा २० हजार रुपैयाँ मूल्य बढेको छ । यस अघि ३ लाख ९ हजार मूल्य रहेको इन्टुडरको मूल्य अब ३ लाख २९ हजार पुगेको छ ।
सुजुकी जिक्सर ड्युअल टोन ड्युअल डिस्क मोडलमा ९ हजार रुपैयाँले मूल्य बढेको छ । यस अघि २ लाख ६५ हजार ९ सय रहेको बाइकको मूल्य बढेर अब २ लाख ७४ हजार ९ सय पुगेको छ । यसैगरि जिक्सरको ड्युअल टोन ड्युअल डिस्क एसपी भसर्नमा पनि ९ हजार मूल्य बृद्धि गर्दै २ लाख ७६ हजार ९ सय पुर्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले सुजुकी हायाते इपीमा ७ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । यस अघि १ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको यस बाइकको अब १ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सुजुकीले स्कुटर तर्फ दुई मोडलमा ७/७ हजार रुपैयाँ मूल्य बढाएको छ । सुजुकी एसेसे १२५ सीसी र सुजुकी लेट्स ११० सीसीमा ७ हजार रुपैयाले मूल्य बढाएको जनाएको छ । सुजुकीका बाँकी बाइक र स्कुटरमा भने मूल्य बढाएको छैन ।

