काठमाडौं । रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० अबको केही दिनमा नेपाली बजारमा बिक्री सुरु हुनेछ । दुगड ब्रदर्श अन्तर्गतको बिबेक अटोमोवाइलले नेपाली बजारमा ल्याएको यो पावरफुल मोटरसाइकलको मूल्य करिब १२ लाखदेखि १३ लाखको बीचमा रहने अनुमान गरिएको छ । संभवत कम्पनीले यसको मूल्य १२ लाख ५० हजार रुपैयाँ राख्ने छ ।
नेपाली बजारमा मिड साइज मोटरसाइकलको माग बढ्दै गएसँगै कम्पनीले उक्त मोटरसाइकल नेपाल ल्याएको हो । इन्टरसेप्टर ६५० सँगै कम्पनीले कन्टिनेन्टर जीटी ६५० समेत नेपालमा सार्वजनिक गर्ने जनाएको छ । भारतीय बजारमा ३ लाख भारु हाराहारीमा रहेको यस मोटरसाइकलको मूल्य यती धेरै हुनुमा मुख्य कारण भन्सार शुल्क, अन्तःशुल्क र सडक दस्तुर मुख्य हो ।
सरकारले ४०० सीसी क्षमताभन्दा बढीका मोटरसाइकलमा २ लाख रुपैयाँ सडक कर लिदै आएको छ भने अन्तःशुल्क पनि उच्चदरमा लगाएको छ ।
यो रेट्रो डिजाइनमा आएको यो मोटरसाइकलमा ६४८ सीसी क्षमताको दुई सिलिन्डर एयर कूल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीड ट्रान्समिन जडान गरिएको छ ।
फ्रन्टमा ३२० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेकसहित डबल च्यानल एबीएस सुबिधा रहेको यस मोटरसाइकलमा १४ लिटर क्षमताको फ्यूल ट्याङक रहेको छ । मोटरसाइकलले २५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।
करिब २०२ किलोग्राम तौल रहेको यस मोटरसाइकलको लम्बाई २१२२ एमएम, चौडाई ७८९ एमएम र उचाई ११६५ एमएम रहेको छ भने १४०० एमएमको ह्वीलवेस र ८०४ एमएम सिट हाइट दिइएको छ ।
ट्युवलर स्टील फ्रेमको च्याचिस रहेको यस मोटरसाइकलमा डिया फ्रन्ट फर्क र रियरमा ट्वीन, क्वयल ओभर शक दिइएको छ ।

