भाडा लिएर यात्रु बोक्ने १६ निजी कार कारवाहीमा (कार नम्बरसहित)

सा‌ंकेतिक तस्विर

काठमाडौं । काठमाडौं उपत्यका महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारी साधनलाई कारवाही गरेको छ ।

चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने यी १६ निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले बताए ।

उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरित यात्रुसँग भाडा लिएर नियम विपरित गरेको पाईएकोले पक्राउ गरिएको जानकारी दिए ।

बा१७च ६७४२, बा१६च २१७४, बा१७च १५७२, प्र३च३०७८, बा३च ५३९८, को१च ९६०५, बा५च ७५५, बा५च ११४, बा१५च ९६८०, बा१९च २१८४, बा१५च २७०६, बा१३च ५३८५, बा१०च ११९२, बा२०च ४८७७, बा१ञ ११२०, ज१च १२६३ नम्बर भएका निजी सवारी साधनहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सुचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ ।

प्रवक्ता एसपी बामदेव गौत्तमले ती सवारी साधनहरूलाई प्रयोजन विपरित कसुरमा ट्राफिक कारवाही गरी पुनः सोही गल्ती नगर्न निर्देशन गरी छाडिएको बताए । उनले भने, ‘फेरि पनि रातो प्लेटमै भाडा लिएर यात्रु बोकेको पाइए कानुनअनुसार कडा कारबाही गरिनेछ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख रहेको पनि छ ।


Back_to_top