सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढ्यो, छोटो दुरीमा बस चल्ने

काठमाडौं । सरकारले क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर छोटो दुरीमा चल्ने सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै संचारमन्त्री डा. युवराज खतिवडाले ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउनु पर्ने भएकाले भाडा पनि ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको जानकारी दिए ।

मन्त्री खतिवडाका अनुसार अब काठमाडौं उपत्यकाका भित्र सार्वजनिक सञ्चालन हुने भएका छन् । साथै अन्य जिल्लाको हकमा पनि जिल्ला भित्रै सवारी सञ्चालन गर्न पाइनेछ ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई भने आवश्यक तयारी गरेर मात्रै चलाउन दिइने बताए । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने छ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

 


Back_to_top