काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायार फराकिलो बनाउने भएको छ । पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेसँगै कानुनी रुपमै काराबाहीको दायार फराकिलो बनाउन लागिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा यातायात निरीक्षकले तत्काल सजाय गर्न सक्ने दायारा फराकिलो बनाइएको हो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा २० वटा कसुर गरेको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न पाउने व्यवस्था छ । तर, अहिले प्रस्ताव गरिएको नयाँ विधेकमा ३४ कसुर गरेमा यातायात निरीक्षकले तत्कालै सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
नयाँ विधेयकमा कसुर संख्यासँगै जरिवान रकम पनि ३३ गुणासम्म बढाइएको छ । हालको व्यवस्था अनुसार तोकिएको कसुर गर्नेलाई यातायात निरीक्षक वा प्रहरीले पहिलोपटक गल्ती गर्नेलाई ५०० रुपैयाँ, दोस्रो पटक गर्नेलाई १ हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई १ हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । तर, अहिले प्रस्ताव गरिएको नयाँ विधेयकमा कसुर अनुसार १०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था गरिएको छ ।
कुन कसुरमा कति जरिवाना ?
प्रस्तावि विधयेक अनुसार सार्वजनिक सवारी साधनको जाँचपास प्रमाणपत्र अद्यावधिक नगरी सवारी चलाएमा दुई पाँग्रेको हकमा ५ हजार, तीनपाँग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा ठूला सवारीको हकमा १५ हजार रुपैयाँ जरिवाना गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, नयाँ व्यवस्था अनुसार तोकिएकाभन्दा बढी गति (ओभर स्पीड)मा सवारी चलाए ५ हजार रुपैयाँ, अरुलाई हानी पुग्ने गरी सवारी चलाएमा २५ हजार रुपैयाँ, ओभरटेक गर्न नहुने ठाउँमा ओभरटेक गरेमा २ हजार रुपैयाँ, सार्वजनिक सवारी साधनमा भाडादरको सूची नराखेमा १ हजार रुपैयाँ, स्तर कायम नगरी वा स्तर कायम नभएका सवारीमा स्तर जनाएमा ५ हजार, लेन अनुशासन पालना नगरे वा संकेत नदिई लेन परिवर्तन गरेमा, फूटपाथमा सवारी चलाएमा, ट्राफिक चिह्न र संकेत पालना नगरेमा १ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, रातमा बत्ति नबाली सवारी चलाएमा २ हजार, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा ३ हजार, वान वे सडकमा सवारी चलाए १ हजार, प्रशिक्षण अवधिमा तोकिएको स्थानमा प्रशिक्षक साथमा नराखी सवारी चलाएमा ३ हजार, ट्राफिक प्रहरीको इशारा उल्लंघन गरेमा १ देखि २ हजार, सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा २ हजार, लामो बाटोमा संचालन हुने सवारी साधनले प्रत्येक ८ घण्टामा चालक परिवर्तन नगरेमा ५ हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा ५०० रुपैयाँ, सवारी साधनबाट सडकमा फोहोर फालेमा १ हजार, चोरीको सवारी चलाएमा ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।