कियाले हाइब्रिड सेल्टोस र तीन ईभी भारतमा बनाउने

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड कियाले भारतीय बजारमा निकै सफल मानिएको सेल्टोस कम्प्याक्ट एसयूभीको हाइब्रिड मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्ने सेल्टोस हाइब्रिड यही वर्षको अन्तिमसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

कम्पनीले आफ्नो लगानीकर्ता दिवसको अवसरमा मध्य र दीर्घकालीन लगानी रणनीति सार्वजनिक गरेको थियो । उक्त रणनीति अनुसार सन् २०३० सम्ममा वार्षिक ४१ लाख ९० हजार युनिट कार बिक्री गर्ने कम्पनीको रूपमा स्थापित हुने लक्ष्य निर्धारण गरेको हो ।

त्यसका साथै, कम्पनीले बिक्री गर्ने मध्ये झण्डै २३ लाख ३० हजार युनिट कार हाइब्रिड र प्योर ईभी हुनेछ । कम्पनीको यो रणनीतिक लक्ष्य भेट्टाउन भारतीय बजार निकै महत्वपूर्ण हुने बताइएको छ ।

कियाका अनुसार सन् २०३० बाट वार्षिक १२ लाख ६० हजार प्योर इलेक्ट्रीक र १० लाख ७ हजार हाइब्रिड कार बिक्री गर्ने लक्ष्य लिएको हो ।

भारतमा बन्नेछन् तीन ईभी

भारतीय बजारमा सबैभन्दा पहिला हाइब्रिड सेल्टोस आउने छ । त्यसको अलवा कम्पनीले भारतमा पेट्रोल मोडलमा रहेको कारेन्स एसयूभीलाई पनि ईभीमा परीक्षण गरिरहेको छ ।

कम्पनीले केही महिना अगाडि बिक्री थालेको सिरोस र अन्तर्राष्ट्रिय बजारमा प्रोटोटाइप आएको ईभी-२ पनि भारतीय बजारमा उत्पादन र बिक्री गर्ने लक्ष्य बनाएको छ ।


Back_to_top