मूल्य एउटै, फिचरमा कुन बलियो ?

काठमाडौं । विगत २ वर्षदेखि इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा एकछत्र राज गर्दै आएको बीवाइडी एटो-थ्रीको मुख्य प्रतिस्पर्धी मानिएको एसयूभी नेपालमा बिक्री सुरु हुने भएको छ । आगामी मार्च २१ तारिखबाट बिक्री सुरु हुने प्रोटोन इमास-७ लाई धेरैले एटो-थ्रीको मुख्य प्रतिस्पर्धी मानिएको छ ।

यी दुई गाडी बीच मुख्य प्रतिस्पर्धा भनेको मूल्यमा देखिएको छ । बीवाइडीले एड्भान्स भेरियन्ट एटो-थ्रीको मूल्य ५६ लाख ९० हजार रुपैयाँ र सुपेरियर भेरियन्टको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

प्रोटोन इमास-७ प्राइम भेरियन्टको सुरूवाती मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

अर्को ब्याट्री साइज पनि समान छ । ब्याट्रीमा अर्को समानता पनि पाइन्छ । त्यो भनेको दुबै ब्लेड टेक्नोलोजीमा बनेका ब्याट्री हुन् । टेक्नोलोजीका हिसावले सर्ट एजीज ब्याट्री केही लेटेस्ट छ । मोटर पावरमा भने ठूलो फरक पाउन सकिनेछ ।

चिनियाँ बजारमा एक अर्काका कट्टर प्रतिस्पर्धी बीवाइडी एटो-थ्री र ग्यालेक्सी ई-५को प्रतिस्पर्धा नेपालमा भने रोचक हुनेछ । बीवाइडी आफ्नो बलियो नटवर्क, भरपर्दो ब्राण्ड नेम र सडकमा बाक्लो उपस्थितिलाई मुख्य आधार बनाएर बजारमा गइरहेको छ ।

बीवाइडी एटो-थ्रीसँग प्रतिस्पर्धा गर्न इमास-७ लाई सबैभन्दा बलियो हतियार भनेको मोटर पावर हो । इमास-७ लाई प्रोटोनले १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा ल्याएको छ । जबकी एटो-थ्रीमा १०० किलोवाटको मोटर छ ।

डायमेन्सन

बीवाइडी एटो-थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम छ । एटो-थ्रीमा २७२० एमएम लामो ह्वीलबेस छ । यसमा १७ र १८ इन्चको ह्वील अप्सन दिइएको छ । १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको एटो-थ्रीमा ४४० लिटरको बुट स्पेश छ ।

त्यसैगरी, इमास-७ को लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । साइजमा हरेक कोणमा इमास-७ ठूलो छ । यो एसयूभीमा २७५० एमएम लामो ह्वीलबेस छ । इमास-७ मा १८ र १९ इन्चको ह्वील अप्सन छ । यसमा ग्राउण्ड क्लियरेन्स भने १७३ एमएम छ । यसमा ४६१ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

ब्याट्री प्याक र मोटर पावर

ठूलो साइजको एसयूभी जस्तो देखिने इमास-७ मा जिलीले बनाएको एजिज सर्ट ब्लेड ब्याट्री छ । प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा आउने इमास-७ मा १६० किलोवाटको मोटर रहेको छ । यसको टर्क ३२० न्युटन मिटर छ । यो मोटरले जम्मा ७.१ सेकेण्डमा शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन सक्छ । इमासको टप स्पीड १७५ किलोमिटर प्रतिघण्टा छ ।

इमास-७ मा ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री अप्सन दिएको छ । सनो ब्याट्री भएको प्राइम मोडलले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

त्यसैगरी, ६०.२२ किलोवाट आवरको ब्याट्रीप्याक भएको प्रिमियम मोडलको रेन्ज ४१० किलोमिटर हुने डब्लूएलटीपीले प्रमाणित गरेको छ । इमास-७ लाई ११ किलोवाटको एसी चार्जर तथा १०० किलोवाटसम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

बीवाइडी एटो-थ्रीमा १०० किलोवाटको मोटर दिएको छ । यसको पीकटर्क ३१० न्युटन मिटर छ । यो मोटरले १०.१ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ ।

बीवाइडीले एड्भान्स र सुपेरियर गरी दुई मोडलमा एटो-थ्री बिक्री गरिरहेको छ । एड्भान्सममा ४९.९२ किलोवाट आवर र सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ ।

एटो-थ्रीको ब्याट्रीप्याकले ७.२ किलोवाटको एसी चार्जर र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसमा रहेको सानो ब्याट्री प्याकले ३४५ किलोमिटर र ठूलो ब्याट्रीले ४२० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

दुवै एसयूभीको सानो ब्याट्रीप्याक भर्सनको रेन्ज समान ३४५ किलोमिटरको रहेता पनि माथिल्लो भर्सनको भने एटो-थ्रीको रेन्ज १० किलोमिटर बढी रहेको देखिन्छ । समान ब्याट्री साइज भए पनि मोटर क्षमता बढी भएकाले इमास-७को रेन्ज केही कम भएको हुनसक्छ ।

क्याबिन फिचर

बीवाइडी एटो-थ्री निकै प्राक्टिकल मोडल हो । त्यसैले त नेपाल आएको २ वर्ष पूरा हुँदा पनि यसको बिक्रीको रफ्तार उस्तै छ । यसको क्याबिनमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको रोटेड इन्फोटेन्मेन्ट टचक्रीन दिइएको छ ।

मल्टिकलर एम्बियन्ट लाइट, ८ वटा स्पीकर, वायरलेस फोन चार्जर, अटोमेटिक एयर कन्डिसन, पोर्टेबल कार्ड की, स्टेरिङ ह्वील माउण्टेड कन्ट्रोल स्वीच, सिक्स वे एड्जस्टेबल पावर सिट इलेक्ट्रीक टेलगेट, भेहिलक टु लोड फेसिलिटी उपलब्ध छ ।

प्रोटोनको इमास-७ मा १०.२ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १५.४ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ । यसमा हेडअप डिस्प्ले समेत छ । यो एसयूभीमा पानारोमिक सनरुफ, मल्टिफङ्सनल एन्टी ब्याक्टेरियल स्टेरिङ ह्वील, अटोमेटिक एयर कन्डिसन, पावर टेलगेट पाउन सकिन्छ ।

एक्टीभ ग्रील, कन्सिल्ड डोर ह्याण्डल, लेदरेट सिट, सिक्सवे एड्जस्टेबल पावर सिट, फोर वे एड्जस्टेबल फ्रन्ट प्यासेन्जर सिट, फुल्ली रिक्लाइनेबल फ्रन्ट सिट, २५६ कलरको एक्बियन्ट लाइट, वायरलेस फोन चार्जर जस्ता फिचर इमास-७ मा छ । ड्राइभर हेडरेस्टमा पनि स्पीकर दिइएको कारमा कुल १६ स्पीकर, भेहिकल टु भेहिकल र भेहिकल टु लोड सुविधा इमास-७ मा पाउन सकिन्छ ।

अत्यावश्यक मोर्डन क्याबिन फिचर दुवै एसयूभीमा लोडेड छन् । इमास-७ मा हेडअप डिस्प्ले, हेडरेस्टमा स्पीकर, फ्लस डोर ह्याण्डलबार र भेहिकल टु भेहिकल रिचार्ज फेसिलिटी बढी छ ।

सुरक्षा फिचर

प्रोटोनले इमास-७ मा १५ प्रकारका सुरक्षा फिचर भएको लेभल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) दिएको छ । यसमा ६ वटा एयरब्याग, अटो ब्रेक होल्ड, ट्रायक्सन कन्ट्रोल, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर छन् ।

त्यसैगरी, एक्टीभ रोल ओभर प्रोटेक्सन, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर र फ्रन्ट पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा लगायतका फिचरले सुरक्षामा अब्बल देखिएको इमास-७ले आसियान एनक्याप क्रयास टेस्टमा ५ स्टारको रेटिङ पाएको छ ।

सुरक्षामा बीवाइडी एटो-थ्री पनि बलियो छ । यसमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोहोल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ईबीडी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल पाउन सकिन्छ । बीवाइडीले एटो-थ्रीमा एडास लेभल २ फिचर दिएको छ ।

अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फ्रन्ट एण्ड रियर कोलुजन वार्निङ, ब्लाइण्ड स्पट डिटेक्सन, लेन किप एण्ड डिपार्चर वार्निङ, रियर क्रस ट्राफिक अलर्ट जस्ता फिचर छन् । यसले युरो एनक्याप क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ ।


Back_to_top