काठमाडौं। आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ डिलर महाराजगञ्जमा संचालनमा ल्याएको छ। कम्पनीले नयाँ डिलरको रुपमा गरिमा अटो कन्सर्न संचालनमा ल्याएको हो ।
उक्त डिलर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन्। नेपालले छिमेकी मुलुकबाट अर्बैंको इन्धन आयात गर्छ। विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ। विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा ठूलो बचत हुन्छ। आइएमई जस्ता समूहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरिरहेकोमा म धेरै खुसी छु,’ प्रबन्ध निर्देशक घिसिङले भने।
‘हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं,’ कार्यक्रममा बोल्दै आइएमई समूहका अध्यक्ष ढकालले भने, ‘हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौं। आइएमई इलेक्ट्रिकले इ-मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ। नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौं।’
कम्पनीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका बताउँदै ढकालले भने, ‘हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं’ ।
त्यसै क्रममा गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने, ‘म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी छु’ ।

