काठमाडौं । रोयल इन्फिल्डले भारतीय बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘स्क्राम ४११’ नाम राखेर नयाँ मोटरसाइकल ल्याएको हो ।
रोयल इन्फिल्डले यसअघि हिमालयन मोडललाई एड्भेन्चर डिजाइनमा ल्याएको थियो । अब कम्पनीले स्क्राम ४११ मोडललाई पनि एड्भेन्चर डिजाइनमा बजारमा उतारेको हो । रोयल इन्फिल्डका मोटरसाइकल नेपाली बजारमा पनि निकै रुचाइने गरेको पाइन्छ ।
रोयल इन्फिल्डले स्क्राम ४११ को मूल्य भारतमा २ लाख ३ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ । मूल्यका हिसावले यसको सिधा प्रतिस्पर्धा केटीएम २५० एड्भेन्चरसँग हुने देखिन्छ ।
रोयल इन्फिल्डले निकै प्रतिक्षित मोडलको रुपमा यसलाई बजारमा ल्याएको भएपनि यसमा दिइएका धेरै फिचर सामान्य लाग्छन् । गोलो आकारको हेलोजीन हेडल्याम्प, वायर स्पोक ह्वील, सिंगल पीस सिट, माथि तिर उठेको एग्जस्ट पाइपले यसको एड्भेन्चर लुक्सलाई बलियो बनाएको छ ।
ट्विन पोड एनालग-डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर पनि सामान्य नै लाग्छ । ट्रिप नेभिगेसन, एनालग स्पीडोमिटर पाउन सकिन्छ । रोयल इन्फिल्ड स्क्राममा ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६५०० आरपीएममा २४.३ बीएच पावर र ४५०० आरपीएममा ३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड स्लीक सिफ्टिङ गियरबक्स दिइएको छ ।
भारतमा रहेको मूल्यका हिसावले केटीएम २५० एड्भेन्चरभन्दा सस्तो मूल्यमा नेपाल आउनु पर्ने यो मोटरसाइकलमा ४०० सीसीभन्दा पनि माथिको इन्जिन रहेकाले सरकारलाई तिर्नु पर्ने कर धेरै तिर्नु पर्छ । यसमा अन्तःशुल्क र सडक निर्माण दस्तुर धेरै तिर्नु पर्ने हुँदा नेपालमा यसको मूल्य केटीएम २५० एड्भेन्चरको तुलनामा धेरै हुन्छ ।
दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध स्क्राम ४११ मा अगाडि १९ इन्च र पछाडि २१ इन्चको ह्वील दिइएको छ । यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको छ ।


