निषेधाज्ञाको कारण रेनो काइगरको बुकिङ बैशाखमा नखुल्ने, यस्तो थियो अनुमानित मूल्य

काठमाडौं । नेपालमा सबैभन्दा कम मूल्यमा किन्न पाइने अपेक्षा गरिएको रेनोको सब फोर मिटर एसयूभी काइगरको बुकिङ बैशाखमा खुल्ने हामीले जानकारी दिएका थियौं । अब काइगरको बुकिङ बैशाखमा खोल्न मुस्किल भएको छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार बैशाख महिनाभर निषेधाज्ञा जारी हुँदैछ । बिहिबारबाट सुरु हुने निषेधाज्ञा बैशाखभर रहने भएकोले काइगरको बुकिङ खोल्न संम्भव नभएको कम्पनीले जनाएको छ ।

‘भारतमा रहेको उच्च माग र सिमित उत्पादनको कारण हामीले चाहेर पनि काइगर नेपाल ल्याउन पाएका छैनौ । बैशाख अन्तिमसम्ममा गाडी दिने कुरा भएको थियो । यहाँ बन्द हुने भयो । अब निषेधाज्ञा सकिएपछि हामी प्रक्रिया सुरु गर्छौ’, एड्भान्स अटोमोवाइल स्रोतले मेरोअटोसँग भन्यो ।

रेनो काइगर निसान म्याग्नाइट भन्दा पनि कम मूल्यमा नेपाल ल्याउने तयारी भइरहेको छ । भारतमा पनि म्याग्नाइटको तुलनामा ५ हजार रुपैयाँ कम मूल्यमा काइगर विक्री भइरहेको छ ।

२९ लाख अनुमानीत मूल्यबाट नेपालमा विक्री सुरु हुने काइगर खोज्ने ग्राहकले थप केहि समय कुर्नु पर्ने भएको छ । रेनो काइगरमा १.० लिटर नेचुलर एस्पायर्ड र १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिएको छ ।

यूरोपियन डिजाइन, क्वीड र टाइबरको सफलताबाट हौसिएको रेनोले काइगरलाई पनि निकै सार्प र स्लीकर डिजाइनमा बजारमा उतारेको छ । निकै आकर्षक देखिएको काइगर सब फोर मिटर सेग्मेन्टमा राम्रो प्रतिस्पर्धी हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top