यी हुन् निषेधाज्ञा सकिएपछि नेपाल आउने २ नयाँ मोटरसाइकल

काठमाडौं । नेपाल ल्याउने तयारीमा रहेका केहि मोटरसाइकल कोभिड १९ को बढ्दो प्रकोपको कारण पछि धकेलिएको छ । विशेषत रोयल इन्फिल्ड र होन्डाले नयाँ मोटरसाइकल नेपाल ल्याउने तयारी गरिरहेका थिए । अब यी मोटरसाइकल नेपाल ल्याउने प्रक्रिया केहि दिनको लागि पर सरेको हो ।

कोभिड १९ को दोस्रो लहर पहिलोभन्दा निकै भयावह हुने संकेत देखिएको छ । भारतमा पहिलो पटकभन्दा दोस्रो लहर निकै तिब्रगतिमा फैलिएको छ भने नेपालमा पनि त्यहि संकेत देखिएको छ । त्यसैले सरकारले कोभिड संक्रमण धेरै भएका स्थानमा निषेधाज्ञा जारी गर्न सुरु गरेको छ । उपत्यकाको तीन जिल्लामा पनि बिहिबारबाट निषेधाज्ञा गारी गर्ने निर्णय भइसकेको छ ।

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल मेटोर ३५० र होन्डाको नयाँ मोटरसाइकल हर्नेट २.० नेपाल ल्याउने तयारी भइरहेको थियो । तर, कोभिडको कारण यी मोटरसाइकलको आयात प्रक्रिया निषेधाज्ञा सकिएपछि मात्रै हुने देखिएको छ ।

मेटोर ३५०

सन् २०२० मा भारतमा विक्री सुरु भएको रोयल इन्फिल्ड मेटोर ३५० अहिले निकै चर्चामा रहेको मोडल हो । भारतमा यसले २०२१ को थुप्रै अवार्ड आफ्नो पोल्टामा पारिसकेको छ । रोयल इन्फिल्डले पहिलो पटक कनेक्टेड फिचर प्रयोग गरेको मेटोर ३५०मा स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल प्रयोगमा ल्याएको छ । यसमा चालकले टर्न वाई टर्न नेभिगेशनको प्रयोग गर्न सक्नेछन् ।

मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य ६ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

हर्नेट २.०

होन्डाले भारतमा पहिलो पटक २०० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेगरि उत्पादन गरेको हर्नेट २.० प्रिमियम फिचरले भरिएको मोटरसाइकल हो । होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क, अल डिजिटल इन्स्टुमेन्ट कन्सोल दिएको छ ।

हर्नेट २.०मा एचइटी पीजीएम-एफआई इन्जिन दिएको छ । १८४ सीसी क्षमताको पिजिएम एफआई इन्जिनले १७.०३ बीएच पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा रहेको डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ ।

भारतमा एक्स शोरुम मूल्य १ लाख २६ हजार भारतीय रुपैयाँ रहेको योमोटरसाइकलको नेपालमा अनुमानति मूल्य ४ लाख ४० हजार पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top