थुप्रै नयाँ मोडलसहित नेपालमा बलियो बन्ने दाउमा रेनो, यस्तो छ नयाँ ईभी

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोसँग अहिले नेपालमा १.० लिटर इन्जिनमा तीन मोडल उपलब्ध रहेको छ । भारतमा उत्पादन भएको रेनो क्वीड, रेनो काइगर र रेनो ट्राइबर नेपालमा विक्री हुँदै आएका छन् ।

एड्भान्स अटोमोवाइलले विक्री वितरण गर्दै आएको रेनो डस्टर र रेनो क्याप्चरको भारतमा उत्पादन बन्द भएको कारण नेपालमा पनि उपलब्ध छैन । विशेषत रेनोको आधिकारीक विक्रेताले भारतमा उत्पादन भएका मोडल नेपालमा विक्री गर्दै आएका छन् ।

रेनोले भारतको लागि नयाँ योजना तयार गरेर काम गरिरहेको रिपोर्टहरु सार्वजनिक भएका छन् । यसअघि यूरोपको बजारमा बलियो पकड बनाउँदै आएको रेनोले रसियामा पनि निकै राम्रो उत्पादन र विक्री गर्दै आएकोमा रसिया-यूक्रेन युद्धपछि त्यहाँको प्लान्ट रेनोले बन्द गरिसकेको छ । रसियन बजारमा हुने विक्रीलाई भारत जस्तो धेरै जनसंख्या भएको र सम्भावित कारको ठूलो बजारबाट पूर्तिगर्न कम्पनी लागि परेको देखिन्छ ।

यही कारण रेनोले भारतीय बजारमा ईभी र कम्बस्चन दुबै भर्सनमा नयाँ मोडल ल्याउने योजना बनाएको छ । कम्पनीको योजना अनुसार क्वीडमा आधारित ईभी, डस्टरको नयाँ जेनेरेशन मोडल, मेगान ईलेक्ट्रीक र अर्काना कुप्पे एसयूभी बजारमा आउने अनुमान गरिएको छ ।

भारतमा टाटाले टियागोदेखि ह्यारियरसम्मका मोडल ईभीमा ल्याउन थालेसँगै अन्य कम्पनीहरु माथि दबाब सृजना भएको छ । त्यहि कारण रेनोले आफ्नो काइगर सब फोर मिटर एसयूभीको इलेक्ट्रीक भर्सनको तयारी गरिरहेका रिपोर्टहरु बाहिर आएका छन् । त्यसैगरी, कम्पनीले क्वीड ह्याचव्याकलाई पनि ईभीमा ल्याउने छ । अहिले क्वीडको इलेक्ट्रीक भर्सन चीनमा विक्री वितरण हुँदै आएको छ ।

रेनोले अर्काना कुप्पे एसयूभी पनि भारतमा उत्पादन र विक्री वितरण गर्ने योजना बनाएको छ । कम्पनीले कुप्पे सेग्मेन्टमा यसलाई उतार्ने छ । यसको सिधा प्रतिस्पर्धा टाटाले ल्याउन लागेको कर्भ कुप्पेसँग हुनेछ । रेनो अर्काना निकै प्रिमियम फिचरको साथ बजारमा आउने छ ।

नयाँ जेनेरेशन डस्टर पनि सन् २०२४ सम्ममा बजारमा विक्री सुरु हुने अपेक्षा गरिएको छ । यसले नेपाली बजारमा निकै राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा बढ्दो विद्युतीय कारको माग सम्बोधन गर्न एड्भान्स अटोमोवाइलले मेगान इलेक्ट्रीक सिधै यूरोपबाट आयात गर्न सक्ने देखिएको छ । अहिले कम्पनीले यूरोपबाट कुनै पनि मोडल नेपाल ल्याएको छैन । तर, नेपालमा बढ्दो ईभीको माग पुरा गर्न मेगान ईलेक्ट्रीक आउन सक्ने देखिन्छ ।

यस्तो छ मेगान ई-टेक

रेनोको पहिलो डेडिकेटेड ईभी प्लेटफर्म सीएमएफ ईभीमा निर्माण भएको मेगेन क्रसओभर इलेक्ट्रीक कार हो । रेनोले धेरै हदसम्म यसको साइज र बनावट पुरानो क्रसओभर क्याप्चरसँग मोल्दोजुल्दो हुनेगरी तयार गरेको देखिन्छ ।

क्याप्चरको डिजाइनबाट प्रेरित भएपनि रेनोले यसलाई डेडिकेटेड ईभी प्लेटफर्ममा बनाएको कारण यसमा लामो ह्वीलवेस र फराकिलो इन्टेरियर पाउन सकिन्छ ।

रेनोले मेगानको प्रोडक्सन मोडल सन् २०२१ मा जर्मनको म्युनिख इन्टरनेशनल मोविलीटी शोमा देखाएको थियो । सन् २०२२ को सुरुवातमै यूरोपियन बजारमा यसको विक्री सुरु भएको हो ।

यूरो एनक्यापबाट सेफ्टी रेटिङमा फाइभ स्टार सुरक्षा मानक पाएको मेगान चाँडै नेपाल आउने सम्भावना भएको मोडल हो । नेपाल आउने हो भने यसको सिधा प्रतिस्पर्धा हुन्डाई कोनासँग हुनेछ ।

यूरोपियन बजारमा मेगेन इटेक दुई फरक व्याट्री साइजमा उपलब्ध रहेको छ । यससको स्ट्याडर्ड भेरियन्टमा ४० किलोवाट आवरको ब्याट्री प्याक र ९६ किलोवाट पीक पावर भएको मोटर उपलब्ध रहेको छ ।

त्यसैगरी, यसको लङ रेन्ज भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री प्याकसँग १६० किलोवाटको मोटर रहेको छ । डब्लुएलटीपीका अनुसार यो कारले सिंगल चार्जमा ३०० देखि ४७० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने छ ।

मेगान कारले १३० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ । १३० किलोवाटको चार्जरले ३० मिनेट मै २०० किलोमिटर गुडाउन मिल्ने रेन्ज प्राप्त हुन्छ । यसमा रहेको १६० किलोवाटको मोटरले २१८ पीएस पावर तथा ३०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । फ्रन्ट ह्वील मोटर रहेको यो ईभीले ८ सेकेन्ड भित्रै १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने छ ।

रेनोको मेगेन ईभीमा लेवल २ सेमी अटोनोमस ड्राइभिङ क्यापावीलीटी सहित २६ प्रकारको एड्भान्स ड्राइभर असिस्ट सिस्टम पाउन सकिन्छ ।


Back_to_top