रेनो काइगरको नयाँ दुई भेरियन्ट नेपालमा, सबै भेरियन्टको बढ्यो मूल्य

काठमाडौं । रेनो काइगर १.० लिटर टर्बो इन्जिनमा नेपाल आएको छ । यसअघि एड्भान्स अटोमोवाइलले १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै उपलब्ध गराएको काइगर टर्बो इन्जिनमा पनि आएको हो ।

कम्पनीले टर्बो इन्जिनमा दुई भेरियन्ट उपलब्ध गराएको छ । दुबै भेरियन्ट म्यानुयल गियरबक्समा ग्राहकले खरिद गर्न सक्नेछन् । ड्यूल टोन कलर अप्सनमा उपलब्ध आरएक्सटी भेरियन्टको मूल्य ४० लाख ४९ हजार र आरएक्सजेड भेरियन्टको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेपाल आएको छोटो समयमा नै सफलताको स्वाद चाखेको काइगरमा रहेको १.० लिटर इन्जिनले कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै छ । यसमा रहेको ९९९ सीसी क्षमताको टर्बो इन्जिनले अधिकतम ५००० आरपीएममा ९९ हर्स पावर र २८०० आरपीएममा १६० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।

विभिन्न ५ कलरमा उपलब्ध काइगर व्ल्यू, ब्राउन, सिल्भर, ग्रे र आइकुल ह्वाइट कलर मध्ये आफुलाई मन पर्ने कलरमा छानेर किन्न सक्ने छन् ।

बढ्यो नेचुरल्ली एस्पीरेटेड इन्जिनको मूल्य

रेनोले यसअघि विक्री गर्दै आएको १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन भएको गाडीको मूल्य बढाएको छ । कम्पनीले सुरुवाती भेरियन्टमा १ लाख ५० हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । त्यसैगरी कम्पनीले मोडल अनुसार २ लाख ४० हजारसम्मले मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब काइगर १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन भएको आरएक्सई म्यानुयल भेरियन्टको २९ लाख ९९ हजार, आरएक्सएल म्यानुयल भेरियन्टको ३१ लाख ८० हजार, आरएक्सएल एएमटीको ३३ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।

त्यसैगरी कम्पनीले आरएक्सटी म्यानुयल भेरियन्टको नयाँ मूल्य ३४ लाख ७० हजार, आरएक्सटी एएमटीको ३६ लाख ३९ हजार र आरएक्सजेड म्यानुयल भेरियन्टको ३८ लाख ३९ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

 


Back_to_top