दैनिक एक किलोमिटर सडक पनि हुँदैन कालोपत्रे, कुन सडकको हालत कस्तो ?

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा २ सय १३ किलोमिटर सडक कालोपत्रे भएको छ । ५ सय किलोमिटर सडक कालोपत्रे गराउने लक्ष्य लिइएकोमा २ सय १३ किलोमिटर सडक मात्र कालोपत्रे भएको हो । 

सडक विभागका अनुसार लक्ष्यको ४३ प्रतिशत मात्र सडक कालोपत्रे भएका हुन् । यो यसपटकको मात्रै समस्या होइन सरकारले सम्बन्धीत निकाय र सरोकारवालालाई जिम्मेवार बनाउन नसक्दा यस्तो अवस्था आएको हो । 

हुलाकी राजमार्गमा ६७ किलोमिटर सडक कालोपत्रे भएको छ भने ७० किलोमिटर ग्राभेल गर्ने काम सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ भने ५५ किमि सडक ग्राभेल गरी स्तरोन्नती भएको सडक विभागका योजना अनुगमा तथा मूल्यांकन शाखा प्रमुख अर्जुन सुवालले बताए । 

मदन भण्डारी राजमार्गमा निर्माण अन्तर्गत धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली बजार–हेटौंडा सडक गरी ३ सय १८ किलोमिटर सडक २ लेनमा विस्तार हुने कार्य तिब्र गतिमा अघि बढि रहेको उनले जानकारी दिए । सो सडकखण्ड अन्तर्गत चालु आर्थिक वर्षमा ५० किलोमिटर सडक कालोपत्रे हुने भएको छ भने ६५ किलोमिटर सडक ग्राभेल भएको छ ।

एडीवी–सासेक रोडतर्फ लेगुवाघाट भोजपुर सडकखण्ड अन्तर्गत चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे भएको छ । सो सडकखण्डको ६५ किलोमिटरमध्ये गत आर्थिक वर्षसम्म ४० किलोमिटर सडक कालोपत्रे भइसकेको थियो । 

यस्तै नदाहा कोसीपुल, चतरा रुपनगर सडकखण्ड अन्तर्गत ५८.५ किलोमिटर, हलेसी दिक्तेल सडक अन्तर्गत २२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । 

व्यापारिक राजमार्ग विस्तार आयोजना अन्तर्गत, बेलहिया सडकको सम्पूर्ण खण्ड २४ किलोमिटरलाई ६ लेनमा विस्तार गर्ने क्रममा २२ किलोमिटर सडक कालोपत्रे भएको छ । गत आर्थिक वर्षमा सो सडकखण्ड अन्तर्गत १० किलोमिटर सडक कालोपत्रे भएको थियो । सर्भिस लेनतर्फ ९.७ किलोमिटर सडक कालोपत्रे भएको छ । 

रानी–विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत हालसम्म चालु आर्थिक वर्षमा ७ किलोमिटर सडक कालोपत्रे भएको छ । सो सडक खण्ड अन्तर्गत ३६.५ किलोमिटर सडकको विस्तार कार्य भइरहेको छ । 

यस्तै जटही–जनकपुर–ढल्केबर ३६ किलोमटर सडकको विस्तार कार्य भइरहेको छ । सो खण्ड अन्तर्गत हालसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । 

मोहनापुल अत्तरिया खण्डको १४ किलोमिटर सडक निर्माण अन्तर्गत ६ किलोमिटर सडकमा ग्राभेल भएको विभागले जानकारी दिएको छ ।

कान्ति राजपथ सडकखण्ड अन्तर्गत चालु आर्थिक वर्षमा १६ किलोमिटर  सडक कालोपत्रे भएको छ । सोखण्डमा १४ किलोमिटर बेसको कार्य सम्पन्न भएको भने टेवा पर्खाल, ढल, कर्ब, स्टोन पाइप कल्भर्टलगायतका निर्माणका कामहरु भइरहेका छन् ।

यसैगरी पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत नारायणघाट–बुटवल १ सय १५ किलोमिटर सडक ४ लेनको राजमार्गका रुपमा विस्तार गर्ने कार्य अघि बढेको विभागले जानकारी दिएको छ । 


Back_to_top