चीनबाट गाडी ल्याउने दुबै नाका ठप्प, केरुङ खुल्न ४० दिन लाग्ने

काठमाडौं । केरुङ-काठमाडौं र तातोपानी-काठमाडौं दुबै रूट बाढीपहिरोको चपेटामा परेको कारण दशैं केन्द्रित सवारीसाधन ल्याउन कठिन हुने देखिएको छ ।

केरुङदेखि रसुवागढी हुँदै धुन्चेसम्मको बाटोमा आएको पहिरो हटाएर सडक संचालनमा ल्याउन करिब ४०÷४५ दिन लाग्न सक्ने चिनियाँ पक्षले नेपाली पक्षलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख केशब भट्टराईले बताए ।

अहिले चाडपर्वको सामान बोकेर आएका करिब २०० कन्टेनर भन्सार हातामा रहेको भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए । सामान बोकेका साधनसँगै करिब १५० भन्दा बढी थान विद्युतीय सवारीसाधन पनि भन्सार हातामा आइपुगेका छन् ।

उता तातोपानी नाकाको अवस्था पनि उस्तैछ । यद्यपि तातोपानी नाकामा नेपालतर्फ मात्रै समस्या रहेको भन्सारका सूचना अधिकारी सुर्यप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार काठमाडौंदेखि भन्सार कार्यालयसम्मको बाटो ठिक अवस्थामा छ । तर, भन्सार कार्यालयदेखि मितेरी पुलसम्म पहिरो छ । बेली ब्रिज बगाएको छ । टाडो खोलाको पुल काम नलाग्नेगरी भाषियको छ ।

‘जिल्ला प्रशान कार्यालय, स्थानिय सरकार, सिन्धुपाल्चोकका सांसद, हाइड्रो पावर कम्पनी, ब्यवसायी, ट्रान्सपोर्ट कम्पनी सबै मिलेर काम गर्दैछन् । सम्भवत केही दिनमा नतिजा निस्केला कि’, सूचना अधिकारी काफ्लेले भने ।

दुबै नाका बन्द हुँदा गाडीको आयातसँगै लताकपडा र खाद्यायन्न आयातमा समस्या परेको छ । चाडपर्वको मुखमा बन्द भएको नाकाको कारण सरकार, ब्यवसायी र उपभोक्तलाई अफ्ठ्यारो पर्ने भएको छ ।


Back_to_top