काठमाडौं । रोयल इनफिल्डले भारतमा बिक्री गर्न प्रतिबन्ध लगाएको स्क्रयाम ४४० मोटरसाइकलको दुई महिनापछि पुनः बिक्री सुरू भएको छ ।
कम्पनीले सन् २०२४ को नाभेम्बर महिनामा सार्वजनिक गरेको स्क्रयाम ४४० को इन्जिन स्टार्टमा समस्या देखिएपछि अप्रिल १० देखि मोटरसाइकलको बिक्री तथा बुकिङ नै बन्द गरिएको थियो।
स्क्रयाम ४४० मा केही समय चलाएर रोकिए पछि पुनः स्टार्ट नहुने समस्या देखिएको हो । कम्पनीले मोटरसाइकलको ‘उडरुफ की कम्पोनेन्ट’मा समस्या भएकोले स्टार्टमा समस्या आएको जनाएको थियो ।
हाल कम्पनीले यी सबै समस्या समाधान गरी पुनः मोटरसाइकलको बिक्री सुरू गरेको बताएको हो ।समस्या आएका सबै मोटरसाइकलहरूको कम्पोनेन्ट निःशुल्क रूपमा फेरिएको कम्पनीले बताएको छ ।
स्क्रयाम ४४० मोटरसाइकलमा पहिले बजारमा रहेको स्क्रयाम ४११ को तुलनामा नयाँ हेडलाइट, पूरा नयाँ एलईडी लाइट, बल्की फ्युल ट्याकं, राउन्ड रियरभ्यू मिरर, नयाँ सिंगल पिस सिट, ट्वीक गरिएको नयाँ टेल सेक्सन, नयाँ इन्स्ट्रुमेन्ट कन्सोल र ट्रिपर नेभिगेसन पोड दिएको छ ।
कम्पनीले स्क्रयाम ४४० मोटरसाइकलमा ४४३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर र आयल कुल्ड, एसओएचसी इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम २४.४ बीएचपी पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
त्यसैगरी, यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक ट्राभल सस्पेन्सन सेटअप छ । दुबै टायरमा स्ट्यान्डर्ड डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस (स्वीचेबल रियर एबीएस) रहेको छ ।
नेपाली बजारमा भने यो मोटरसाइकल हालसम्म बिक्री सुरू भएको छैन । नेपाली बजारमा हाल स्क्रयाम ४११ को बिक्री वितरण भइरहेको छ । नेपालमा यो मोटरसाइकल कहिले आउँछ भन्ने यकिन छैन् । रोयल इनफिल्ड मोटरसाइकल नेपाली बजारमा अल्फा अटोमोटिभले बिक्री वितरण गर्दै आएको छ ।