रोयल इन्फिल्डको ‘रेन्टल पार्टनर्स’ मिट सम्पन्न, पर्यटन प्रवद्र्धन गर्ने

काठमाडौं । रोयल इन्फिल्ड नेपालले ‘रेन्टल पार्टनर्स’ मिट २०२६ सम्पन्न गरेको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नेपालमा दुईपाँग्रे पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरेको हो ।

ग्वार्कोस्थित रोयल टुलिपमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए । कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका संचालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा अल्फा अटोमोटिभका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए। साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

वक्ताहरूले दुईपाँग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए। उनीहरूले नेपाललाई एड्भेन्चर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र महत्वपूर्ण हुने उल्लेख गरेका थिए।

अल्फा अटोमोटिभले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी रोयल इन्फिल्डले नेपालमा राइडिङ इकोसिस्टमलाई थप सशक्त बनाउन पार्टनरसिप, कम्युनिटी इन्गेजमेन्ट तथा सस्टेनेबल टुरिजम इनिसियटिभ्सलाई निरन्तरता दिने जनाएको छ।

‘रेन्टल पार्टनर्स’ मिट २०२६ सहभागीहरूबीच सहकार्य र निरन्तर संवादलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। प्योर मोटरसाइकलिङ अवधारणालाई अघि बढाउँदै आएको कम्पनीले हालै सार्वजनिक गरिएको गुएरिल्ला ४५० सहित हन्टर ३५०, क्लासिक ३५०, हिमालयन ४५०, मिटिओर ३५०, इन्टरसेप्टर ६५० लगायतका प्रिमियम मोडल उत्पादन गर्दै आएको छ।

आइशर मोटर्स लिमिटेड अन्तर्गत संचालित रोयल इन्फिल्डको विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ। नेपालसहित विभिन्न देशमा कम्पनीका सीकेडी एसेम्बली फ्यासिलिटिज संचालनमा छन्।


Back_to_top