मुग्लिन-नारायणगढ सडकमा पहिरो रोक्न दोस्रो टेन्डर आह्वान

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो नियन्त्रणका लागि धमाधम टेन्डर आह्वान गरिएको छ ।

सडक डिभिजन भरतपुरले काली खोला र नाम्सी खोलामा पहिरो रोकथाम गर्न ठेक्का आह्वान गरेको हो । डिभिजनले गत साता तुइन खोला र नाम्सी खोला पहिरो रोकथामको ठेक्का आह्वान गरेको थियो ।

काली खोला र नाम्सी खोलाको पहिरो नियन्त्रणका लागि अनुमानित लागत २५ करोड रुपैयाँ छ । वर्षायाममा ढुंगा र माटो खसेर सडक बन्द हुने समस्या हटाउन पहिरो रोकथाम गर्न लागिएको सडक डिभिजनले जनाएको छ ।

डिभिजनका अनुसार पहिरोको जोखिम रहेका स्थानहरूमा रक एंकरिङ र रक नेटिङ जस्ता प्रविधि प्रयोग गरिने छ । साथै, सोयल स्टेबलाइजेसन गर्ने, रिटेनिङ वाल लगाउने र जाली भर्ने लगायत काम गरिने छ ।

३६ किलोमिटर लामो मुग्लिन नारायणगढ सडकखण्डमा २६ मध्यम, १४ सामान्य र ९ वटा उच्च जोखिम क्षेत्र छन् । त्यसमध्ये पहिलो चरणमा सबैभन्दा उच्च जोखिम रहेको क्षेत्रको पहिरो रोकथामका लागि टेन्डर आह्वान गरिएको हो ।

सडक विस्तार तथा पुल निर्माणका क्रममा भित्ता काट्दा कमजोर बनेको क्षेत्रमा चट्टान झरेर हरेक वर्ष पहिरो जाने गरेको छ । यद्यपि, बर्खा लागेपछि सडक डिभिजनले टेन्डर खुलाए पनि काम गर्न भने असहज हुन सक्ने देखिएको छ ।

संघीय राजधानी काठमाडौं जोड्ने लाइफलाइन यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी साना ठूला सवारी साधन आवतजावत गर्छन् ।


Back_to_top