जोर बिजोरको कारण यात्रु लिएर साझा बस साँखु पुग्दा…

काठमाडौं । साझा यातायातले आज काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा आफ्नो सेवा प्रदान गरेको छ । धेरै समय अगाडिदेखि रत्नपार्क–चाबहिल–जोरपाटी–साँखु रुटमा बस सेवा सुरु हुने हल्ला भइरहेको समयमा आज साँखुसम्म बस पुग्दा धेरैले साझा यातायातले नियमित सेवा सुरु गरेको बुझेका छन् । 

धेरै पहिला पनि साँखु रत्नपार्क साझा यातायातले सेवा दिदै आएकोमा एक्कासी आज यात्रु बोकेर बस जाँदा स्थानियवासी निकै खुसी देखिएका थिए । 

बस संचालन भएको देखिएपछि हामीले साझा यातायातले रत्नपार्क–चाबहिल–जोरपाटी–साँखु रुटमा सेवा विस्तार गरेको हो भन्ने प्रश्न कम्पनीका सीईओ महेन्द्र पाण्डेलाई गर्दा उनले अहिल्यै साँखु रुटमा जाने कुनै योजना नरहेको जानकारी दिए । 

‘उपत्यकामा जोर बिजोर लागु भएको तर, साझाका सबै गाडी संचालन भएकाले जनताको सेवामा गएका हौं । ब्यवसायीकरुपमा अहिल्यै साँखु जाने कुनै योजना छैन’ पाण्डेले मेरोअटोसँग भने । 

इन्द्रेणी चोकमा प्यासेन्जर ओराल्दै गरेका बस चालकलाई हामीले सोध्यौ, के अब सधैँ साझा बस यो रुटमा चल्छ ? चालकले भने खै सर यस्तो बाटोमा कसरी यत्रो बस चलाउनु उनले यति भने । त्यसपछि उनि बस लिएर अगाडि बढे । 

चाबहिल–जोरपाटी–साँखु सडककै कारण यहाँ सार्वजनिक यातायातका साधनसमेत संचालन भएका छनन् । विगतमा करिब १४५ वटा बस संचालन भइरहेको यस रुटमा अहिले मुस्किलले ५० वटा गाडी संचालनमा रहेका छन् । खराब बाटो कोचाकोच गाडी यस बाटोमा दैनिक यात्रा गर्ने यात्रुको पिडा बनेको छ ।   


Back_to_top