साझाले बनायो देशकै ठूलो चार्जिङ नेटवर्क, एकै पटक २२ वटा बस चार्ज गर्न मिल्ने

काठमाडौं । साझा यातायातले लामो समयपछि चार्जिङ स्टेशन संचालनमा ल्याउने भएको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन भोलि मंगलबारबाट विधिवत रुपमा संचालनमा ल्याउने भएको हो ।

ललितपूरको पुल्चोकमा तयार भएको साझा चार्जिङ डिपोको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले गर्ने साझा यातायातले जानकारी दिएको छ ।

‘हामीले भोलिबाट एकै साथ ११ वटा चार्जर संचालनमा ल्याउँदैछौं । यी चार्जर संचालनसँगै साझाले किनेर ल्याएको ४० वटै विद्युतीय बस संचालनमा आउँछ । यसले सार्वजनिक यातायात विद्युतीकरण गर्ने हाम्रो प्रयासमा टेवा पुग्छ’, साझा यातायातका महाप्रबन्ध महेन्द्रराज पाण्डेले मेरोअटोसँग भने ।

पाण्डेका अनुसार अझै ९ वटा चार्जर जडान गर्न बाँकी छ । त्यसको लागि आवश्यक स्थानको खोजी चलिरहेको छ । एउटा चार्जर १२० किलोवाट क्षमताको रहेको र त्यसबाट दुई वटा गन निकालेर एक पटकमा २ वटा गाडी चार्ज गर्न सकिन्छ । एउटा गाडी ४ देखि ५ घन्टामा फुल चार्ज हुनेछन् ।

जम्मा ४० वटा गाडी एक साथ चार्ज गर्न २० वटा फास्ट चार्जर ल्याएको साझाले अहिले २२ वटा गाडी एक साथ चार्ज गर्न सकिने बनाएको छ । आलोपालो चार्ज गर्दै सबै गाडी संचालनमा ल्याउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताए ।

रुटभने नयाँ नथपिएको बताउँदै पाण्डे भन्छन्, ‘अहिले पुरानै रुटमा गाडी थप्ने योजना छ । नयाँ रुटमा जादैनौं ।’

साझा यातायातसँग अब ४० वटा विद्युतीय र ७१ वटा डिजेलबाट चल्ने बसहरु मिलाएर १११ वटा साधनले सेवा दिने भएको छ ।


Back_to_top