काठमाडौं । विद्युतीय कारको वारेन्टी सेकेन्ड ह्याण्ड बजारमा किन्दा पाइन्छ कि पाइँदैन भन्ने बहस अहिले निकै जोडतोडले भइरहेको छ । केही कम्पनीले वारेन्टी ट्रान्सफर नगर्ने व्यवस्था गरेको भन्दै सामाजिक संजालमा चर्चा भएपछि यसको यथार्थ हामीले बुझ्ने प्रयास गरेका हौं ।
धेरै कम्पनीहरूले ‘वनरसीप’ ट्रान्सफरको वारेन्टी ट्रान्सफरसँग सम्बन्ध नै नभएको बताए । बीवाइडी, हुन्डाई, किया जस्ता ब्राण्डले इलेक्ट्रीक कारमा तोकिएको सबै अवधि जसले चढेको भए पनि वारेन्टी पाउने जानकारी दिए ।
‘हामीले इलेक्ट्रीक कारलाई ‘भीन नम्बर’बाट ट्रयाक गर्ने हो । कसले चढेको छ भन्ने विषयले महत्व राख्दैन,’ कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका निर्देशक आशिष पौडेलले भने ।
कियाले जस्तै हुन्डाईले पनि आफ्ना सबै किसिमका गाडीमा तोकिएको वारेन्टी गाडीधनी परिवर्तन भए पनि कायम रहने जनाएको छ ।
‘हुन्डाईका सबै गाडीमा वारेन्टी अवधिभर जति पटक किनबेच भए पनि वारेन्टी कभर हुन्छ । ईभीमा नहुने कुरै भएन,’ लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल मेनेजर दीपक थपलियाले मेरोअटोसँग भने ।
बजारमा अहिले वारेन्टी ट्रान्सफर गर्दैन भनेर नेटाको विषयमा चर्चा भइरहेको छ । तर, कम्पनीले वारेन्टी निरन्तर दिने जनाएको हो ।
‘अन्तर्राष्ट्रिय रूपमा नै कम्पनीको नीति वनरसीप परिवर्तनपछि वारेन्टी नदिने भन्ने हो । तर, नेपालको केसमा अहिलेसम्म कुनै पनि कुरा कम्पनीमा आएको छैन । हामी तोकिएको अवधिसम्म वारेन्टी दिन्छौं,’ सिजी मोटर्सका सीईओ हेमन्त अग्रवालले भने ।
नेटा जस्तै टाटाले पनि प्रदान गर्ने वारेन्टी ट्रान्सफरको व्यवस्था नभए पनि कम्पनीले ढुक्क हुन भनेको छ ।
‘हामी वारेन्टी दिन्छौं । हामीले चाहेको किन्ने मानिस सजग होस् भन्ने हो । यदि तपाईं टाटाको कुनै सेकेन्ड ह्याण्ड इलेक्ट्रीक कार किन्दै हुनुहुन्छ भने, त्यसको सर्भिस हिस्ट्री आधिकारिक सर्भिस सेन्टरमा लगेर चेक गर्नुहोस् । त्यही हाम्रो टीमले बाँकी वारेन्टीको बारेमा जानकारी दिनेछन्,’ सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले मेरोअटोसँग भने ।
बीवाइडीले आफ्ना उत्पादनमा १८ महिनादेखि ८ वर्षसम्मको वारेन्टी दिइरहेको छ । कम्पनीले वारेन्टी अवधि रहुन्जेल वनरसीप परिवर्तन भए पनि फरक नपर्ने जनाएको छ ।
‘हामीले वारेन्टी दिएको गाडी किनबेच नहुने वा किनबेच हुनासाथ वारेन्टी नपाइने भन्ने हुँदैन । गाडी किनबेचको अवधिमा बाँकी सबै वारेन्टी हामी ग्राहकलाई दिन्छौं । ढुक्कसँग सेकेन्ड ह्याण्ड बजारमा पनि कारोबार गर्दा हुन्छ,’ साइमेक्स इंक प्रालिका सीईओ सहिल श्रेष्ठले मेरोअटोसँग भने ।
एमजीले पनि गाडी किनबेच भए पनि वारेन्टीलाई निरन्तरता दिएको जनाएको छ । ‘हामीले बेचेको गाडीमा दिइएको वारेन्टी अवधिभर पाइन्छ । त्यसमा कुनै समस्या छैन,’ पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले भने ।
सम्पूर्ण कम्पनीले गाडीमा वारेन्टी ट्रान्सफर हुने बताएका छन् । तर, सेकेन्ड ह्याण्ड ईभी किन्नुअघि आधिकारिक बिक्रेताको सर्भिस सेन्टरमा लगेर गाडीको सर्भिस हिस्ट्री जाँच गर्न उनीहरूले सुझाव दिएका छन् ।