कुन बैंकमा पाइन्छ कम ब्याजदरमा गाडी कर्जा ?

काठमाडौं । बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्ने हुँदा कम वेसरेट भएका बैंकबाट कर्जा लिँदा सस्तो पर्छ । पछिल्ला दुई वर्ष ब्याजदर निकै धेरै भएको कारण ऋण लिएर गाडी किन्दा धेरै ब्याज तिर्नु पर्ने अवस्था थियो ।

अहिले अधिकांश बैंकको बेसरेट घट्दो क्रममा रहेको कारण अटोकर्जा पनि सस्तो बन्दै गएको छ । तुलनात्मक रुपमा कम बेसरेट भएका बैंकहरूले केही सस्तोमा ऋण दिन सक्छन् । जुन बैंकको बेसरेट महंगो छ, ब्याजदर पनि धेरै पर्ने गरेको पाइन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसमाथि वार्गेनिङ गरेर कर्जा लिनेले बेसरेटमा १ वा २ प्रतिशत प्रिमियम जोडेर नै अटोकर्जा पाउने गरेका छन् ।

अहिले बैंकहरूको औसत बेसरेट ९.६९ प्रतिशत रहेको छ । जसमा ५ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको औसत ब्याजदर साढे १४ प्रतिशतसम्म पुग्छ । तर, यति महंगोमा कर्जा लिने मानिस अहिले विरलै भेटिन्छन् । त्यसैले अहिले बैंकहरुले १० प्रतिशत ब्याजदरमै अटोकर्जा दिन थालेका छन् ।

अहिले सबैभन्दा कम बेसरेट विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । उसको बेसरेट ७.७७ प्रतिशत मात्र छ । तर, स्ट्याण्डर्ड चार्टर्डले अटोलोन बन्द गरेको अवस्था छ ।

यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको बेसरेट ९ प्रतिशतभन्दा कम छ । यी बैंकले अधिकतम १०÷११ प्रतिशतमा नै अटोकर्जा उपलब्ध गराएका छन् । यी बैंकबाट सबैभन्दा सस्तो दरमा अटोलोन पाउन सकिन्छ ।

त्यसैगरी, नेपाल, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बेसरेट साढे ९ प्रतिशतभन्दा कम छ । साथै, सानिमा, ग्लोबल आइएमई, नेपाल एसबीआई, कृषि विकास बैंकको बेसरेट १० प्रतिशतभन्दा कम छ । यी बैंकहरुले पनि १०.५ देखि १२ प्रतिशत ब्याजदरमा अटोकर्जा उपलब्ध गराएका छन् ।

अहिले हिमालयन बैंकको बेसरेट सबैभन्दा महँगो छ । यसको बेसरेट १०.७७ प्रतिशत रहेको छ । त्यस्तै, एनमएमबी, सिटिजन, एनआइसी एशिया, प्राइम कमर्शियल, लक्ष्मी सनराइज र कुमारी बैंकको बेसरेट १० देखि साढे १० प्रतिशतको बीचमा छ । यी बैंकबाट अटोकर्जा लिँदा १२÷१३ प्रतिशतसम्म ब्याजदर पर्न सक्छ ।


Back_to_top