काठमाडौं । काठमाडौंको नक्सालमा सेरेस ईभीको नयाँ ‘स्टेट अफ आर्ट’ शोरुम संचालनमा आउने भएको छ । सेरेस ईभीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पका अनुसार ‘स्टेट अफ आर्ट’ शोरुम निर्माण अन्तिम चरणमा पुगेको हो ।
शोरुम निर्माण अन्तिम चरणमा पुगेकाले यही बिहीबार उद्घाटन गरिने कम्पनीका डेपुटी जनरल मेनेजर प्रसन्न पन्तले जानकारी दिए ।
नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभूत गर्न नयाँ शोरुम महत्वपूर्ण हुने उनले बताए ।

३ हजार वर्गफिट क्षेत्रफलमा बन्ने यो शोरुम ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको छ । यो शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल, परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ ।
नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र ईभीको बढ्दो मागलाई पूर्ति गर्न यो शोरुमको महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । साथै, यसले ग्राहकसँग प्रत्यक्ष सम्पर्क जोडी सेरेसले बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराएर हरित यात्रालाई गति दिनेछ ।
सेरेसका हाल काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा उपत्यका बाहिर पोखरा र बुटवल डिलर संचालनमा छन् । निकट भविष्यमै सेरेसले बिर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि शोरुम खोल्ने तयारी गरेको छ ।



