यी हुन् नेपालमा पाइने धेरै एयरव्याग भएका कार

काठमाडौं । कारमा दिइने एयरव्यागले चालक र प्यासेन्जरलाई दुर्घटना भएको खण्डमा बचाउन भूमिका निर्वाह गर्छ । केही वर्ष अघिसम्म भारतमा उत्पादन भएका कारमा एयरव्यागको प्रयोग अत्यन्त कम हुन्थ्यो । सन् २०१९ पछि एयरव्यागलाई अनिवार्य बनाएसँगै अहिले भारतमा उत्पादन हुने कारमा एयरव्यागको संख्या बढेको हो ।

अटो उत्पादक कम्पनीले कारमा सवार यात्रुहरुलाई कसरी सुरक्षीत राख्न सकिन्छ भनेर विभिन्न किसिमका नयाँ टेक्नलोजीको निर्माण र प्रयोग गरिरहेका छन् । अहिलेसम्मकै ठूलो खोज भनेको कारमा प्रयोग हुने एयरव्याग नै हो ।

आजकल भारतमा उत्पादन हुने कारमा पनि २, ४, ६ वा ७ वटासम्म एयरव्यागको प्रयोग हुन थालेको पाइन्छ । यस्तोमा हामीले भारतमा उत्पादन भएर नेपालमा उपलब्ध ६ वटा एयरव्याग भएका कारहरुको चर्चा गरेका छौं ।

अमेरिकन कार निर्माता फोर्ड सुरक्षीत कार निर्माणको लागि प्रसिद्ध कम्पनी हो । फोर्डको इन्ट्री लेवल कार फिगो, अस्पायर तथा फ्रिस्टाइलको माथिल्लो भेरियन्टमा ६ वटा एयरव्यागको प्रयोग गरिएको छ । त्यस्तै इकोस्पोर्टको टप भेरियन्टमा पनि ६ वटा एयरव्याग पाउन सकिन्छ ।

जापनीज कार निर्माता होन्डाको सेडान कार सिटीको मिड स्पेक भिएक्सभन्दा माथिल्लो भेरियन्टमा ६ वटा एयरव्याग रहेको छ । होन्डा सिटीको तल्लो भेरियन्टमा ४ वटा एयरव्याग पाउन सकिन्छ । होण्डाको अन्य मोडल ज्याज, डब्लुआरभी तथा अमेजका सबै भेरियन्टमा कम्तीमा २ वटा एयरव्याग रहेको छ ।

हुन्डाई भेन्यू र आई २० को माथिल्लो स्पेकमा ६ वटा एयरव्याग रहेको छ । त्यस्तै हुन्डाईको अन्य कारहरु भर्ना, एलान्ट्रा, क्रेटा, अल्काजार, टुसान तथा कोना इलेक्ट्रीकमा ६ वटा एयरव्याग दिइएको छ ।

अमेरिकी अफरोड एसयूभी निर्माता जीपले भारतमा बनाएको जीप कम्पासको मिड भेरियन्टबाट ६ वटा एयरव्याग प्रयोग भएको छ । तर, जीपको र्याङलरमा भने मात्र ४ वटा एयरव्याग रहेको छ ।

कोरियन अटोमोवाइल कम्पनी कियाले भारतमा बनाएको सेल्टोस र सोनेट दुबै एसयूभीको टप भेरियन्टमा ६ वटा एयरव्याग रहेको छ । किया सोनेट जीटीएक्स भेरियन्ट कियाको कारहरु मध्ये सबैभन्दा कम मूल्यको पव ६ एयरव्याग भएको कम्प्याक्ट एसयूभी हो ।

महिन्द्राको एसयूभी सुरक्षाको मामलामा अझ अगाडि रहेको छ । महिन्द्राको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० ग्लोवल एनक्याप रेटिङमा ५ स्टार रेटिङ पाएको छ । एक्सयूभी ३०० को टप भेरियन्टमा ७ वटासम्म एयरव्याग रहेको छ ।

टाटा मोटर्सले आफ्नो ब्राण्डिङ नै सुरक्षीत कारको रुपमा गर्दै आएको छ । बजेट कार मै थुप्रै सुरक्षा फिचर दिन सफल टाटाको नेक्सन र अल्ट्रोजले ग्लोवल एनक्याप रेटिङमा ५ स्टार रेटिङ पाएको कार हो । टाटाको बजेट कार टियागो तथा नेक्सनमा ६ वटासम्म एयरव्याग रहेको छ । त्यस्तै टाटाको नयाँ एसयूभीहरु एचफाइभ तथा सफारीमा पनि ६ वटा एयरव्याग रहेको छ ।

त्यस्तै स्कोडाको सुपर्भ र अक्टिभीयाको टप भेरियन्टमा ८ एयरव्याग रहेको छ । स्कोडाले हालै विक्री सुरु गरेको कुशकको माथिल्लो स्पेक स्टाइलमा ६ वटा एयरव्याग रहेको छ ।

तर, मारुती सुजुकी, निसान, रनो जस्ता कम्पनीहरुले आफ्ना सफल मोडलको माथिल्लो भेरियन्टमा पनि २ वटा मात्र एयरव्याग दिएका छन् । यी कम्पनीका मोडलहरु डस्टर, किक्स, सियाज, एसक्रस, ब्रेजा, काइगर तथा म्याग्नाइट जस्ता धेरै विक्री हुने मोडलमा दुईवटा मात्रै एयरव्याग पाउन सकिन्छ ।


Back_to_top