स्कोडा कुशकमा मूलकोट यात्रा : सेग्मेन्टमै ‘सम्राट’ बन्ने लक्ष्यलाई माइलेज र बनोटको साथ

काठमाडौं । ठूलो कम्प्याक्ट एसयूभी हजार सीसीको इन्जिन, सुन्दा अनौठो लाग्ला तर, कुशकको पहिचान यही हो । कम्पनीले सानो इन्जिनमा धेरै पावर उत्पादन गर्न टर्बो चार्ज्ड इन्जिनको प्रयोग गरेको कारण यसमा पावरको कमी हुँदैन ।

मेरोअटो टीमले कुशकको टेष्ट ड्राइभ काठमाडौं, बनेपा, भकुन्डेबेंसी, नेपालथोक हुँदै मूलकोटसम्मको यात्रा गरेको थियो । बीपी हाइवेमा पर्ने यो बाटोमा सबै किसिमका फिचर परीक्षण गर्न उपयुक्त छ । ठूला र धेरै घुम्ती, ओरालो, समथर, उकालो, कहीँ कहीँ कच्ची, वर्षातको समय भएकाले बाटोमा ठूल्ठूला खाडल, खहरेले बनाएका ठूला भंगाला समग्रमा भन्दा जहाँ कहीँ भेटिने नेपाली बाटा यही पाउन सकिन्थ्यो ।

ड्राइभिङ अनुभव सुनाउनुभन्दा पहिला यसको ‘बिल्ड क्वालीटी’को कुरा गरौं । यूरोपियन कार निर्माताले भारतमा बनाएको कुशक हेर्दा नै ‘स्ट्रङ’ देखिन्छ । यूरोपियन निर्माताहरू सधैँ फिचरमा ध्यान दिन्छन् । तर, चेक कम्पनी स्कोडाले फिचरको साथै बनोटमा पनि निकै सावधानी अपनाएको छ । स्कोडाको भारतीय बजारका लागि लिएको इन्डिया २.० अन्तर्गत दक्षिण पूर्वी एशियाली क्षेत्र विशेषगरी भारत र नेपाली सडक सुहाँउदो डिजाइन गरेको पहिलो गाडी हो ।

पूर्वीय संस्कृत भाषाबाट लिइएको कुशकको अर्थ सम्राट हो । नामबाटै स्कोडाले कुशकलाई मिडसाइज एसयूभी सेग्मेन्टमा सम्राटको रूपमा स्थापना गर्न चाहेको बुझिन्छ ।

नेपालको लागि स्कोडाको आधिकारीक विक्रेता एमएडब्ल्यू स्कोडाले कुशकलाई नेपाली बजारमा करिब दुई महिना अगाडि लन्च गरेको हो । मैले यसअघि नै काठमाडौको विभिन्न स्थानमा कुशक चलाएको थिएँ । उपत्यकाको ट्राफिकमा गाडीको ड्राइभिङ अनुभव गर्न नसकेको कारण नै हाइवे निस्कने योजना बनाएका थियौं ।

हामीले कम्पनीलाई दुई दिनका लागि कुशक माग्यौं र लाग्यौं बीपी हाइवे । यो कार हाइवेमा अनुभव गर्नको चाहनुको मुख्य कारण इन्जिन हो । स्कोडकाले यसमा फक्सवागेन ग्रुपले विकास गरेको १.० लिटरको टीएसआई टर्बो चार्ज्ड पेट्रोल इन्जिन प्रयोग गरेको छ । इन्जिनको साइज सानो भएता पनि यसले उत्सर्जन गर्ने शक्ति भने १४-१५ सय सीसी क्षमताको इन्जिन बराबर गर्ने कम्पनीले दाबी गरेको थियो । हामीलाई यसको प्रत्येक्ष अनुभव गर्नु जो थियो ।

हामी स्कोडाको शोरुमबाट कुशकको म्यानुयल ट्रास्मिसन भएको स्टाइल भेरियन्ट लिएर चारजना बसेर निस्कियौं । मेरो सिटी ड्राइभको अनुभवमा म्यानुअलभन्दा अटोमेटिक उत्कृष्ट लागेको थियो । तर, हाइवेमा भने गतिमा आफ्नो कन्ट्रोलका लागि हामीले म्यानुयल कारको छनोट गरेका थियौं ।

गाडीको ड्राइभिङ सिटमा बस्दा पहिलो इम्प्रेसन उत्कृष्ट लाग्यो । प्रिमियम ड्यासबोर्ड, आरामदायी सिटको साथमा टेलिस्कोपीक र टिल्ट दुवै तरिकाबाट आफूलाई सुहाउँदो हाइटमा एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील आकर्षक थियो । अझ स्कोडाले यसमा दिएको रेसिङ कारको जस्तो टुस्पोक स्टेरिङ ह्वील विल्कुलै फरक लाग्थ्यो ।

स्टेरिङ ह्वीलमा पनि मिडिया र ड्राइभर इन्फर्मेसन मोड चलाउन बटम नभई रोलर दिइएको थियो । जुन, मैले हालसम्म चलाएको गाडीहरूभन्दा विल्कुलै फरक थियो । अगाडि रहेको कुल्ड ड्यासबोर्डमा हामीले केही कोल्ड ड्रिक्स र पानी लोड गर्यौं । जुन नेपालथोक मूलकोटको गर्मीमा हामीलाई शितलता प्रदान गर्न एकदमै उपयोगी भयो ।

स्कोडाले कुशकमा दिएको ह्वीलवेस सेग्मेन्टमै सबैभन्दा ठूलो साइजमा भएकाले पछाडि बस्ने यात्रुका लागि झनै आरामदायी थियो । पछाडि दुईजना प्यासेन्जर बस्दा निकै ठूलो लेगरुम थियो । सामान्य उचाइको मानिस त सुतेरै यात्रा गरे जति नै सहज थियो । हाइवेमा लामो यात्रा गर्ने हो भने, पछाडि सिटमा ३ जनालाई केही असहज हुन सक्छ । क्याबिनमा अर्को रोचक पक्ष भनेको यसमा प्रयोग भएको इन्फोटेन्मेन्ट सिस्टम र एसी कन्ट्रोलमा पनि केही फरकपन मैले पाए ।

यो कारका एसी कन्ट्रोल तथा इन्फोटेन्मेन्टम कुनै सुइज छैन । यो दुवै कन्ट्रोल फुल्ली टचसिस्टममा आधारित रहेको छ । तर, कहिले काहीँ गाडी चलाउँदै यी कन्ट्रोल सिस्टमहरू प्रयोग गर्न खोज्दा अलि अफ्ठ्यारो हुन पनि सक्छ । तर, स्कोडाले केही नयाँ गर्नु पर्ने बाध्यतामा यस्ता अत्याधुनिक फिचर दिएको अनुमान गरियाे। क्याबिननमा रहेको सनरूफ पनि उत्कृष्ट रहेको छ ।

करिब २५० किलोमिटरको यो यात्रामा सानो १.० लिटर इन्जिन भएको गाडी हो भन्ने अनुभव भएन । हाइवे र सिटी दुवैै बाटाहरूमा हामी चार जना बसेर यात्रा गर्दा सबैजनालाई आरामदायी अनुभव भएको थियो । विशेषत मलाई ड्राइभ गर्दा एक स्पोट्स कार चलाएको जस्तो अनुभव भयो ।

अटोमेटिक क्लाइमेट कन्ट्रोलले गर्मीमा निरन्तर क्याबिननलाई चिसाउन मद्दत गरेको थियो, तर यो सेग्मेन्टमा उपलब्ध अन्य कारको तुलनामा यसको एसी भने केही कमजोर रहेको हामीले पायौं । यसमा प्रयोग भएको टुस्पोक स्टेरिङ ह्वील एक फरक अनुभव थियो । स्कोडाको टीएसआई टर्बो इन्जिन साँच्चै उत्कृष्ट रहेछ । फक्सवागेन ग्रुपले सानो आकारमा धेरै पावर दिने इन्जिनको विकास गरेसँगै इन्धनको खपतमा निकैनै कमी आउने विश्वास लिइएको जनाएको छ ।

 


Back_to_top