अर्को हप्ताबाट न्यूरोडमा स्मार्ट पार्किङ सुरु, यी स्थानमा राख्न सकिन्छ बाइक र कार

काठमाडौं । वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने भनिएको काठमाडौं महानगर भित्रको पहिलो स्मार्ट पार्किङ अर्को हप्ताबाट सञ्चालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोडमा सञ्चालन गर्न लागेको स्मार्ट पार्किङका लागि अझै थप केही दिन लाग्ने भएको हो । 

टेक्नीकल समस्याका कारण सञ्चालनमा आउने भनिएको स्मार्ट पार्किङमा ढिलाइ भएको ‘ह्वील्स ट्रुली योर्स ड्रिम’का आइटी इन्जिनियर हरिश अग्रवालले जानकारी दिए । 

उनले हाल एपको टेस्टिङ तथा रिटेस्टिङको काम भइरहेको जानकारी दिए । ‘बोर्ड राख्ने काम सकिसकेको छ, टेक्निकल समस्याका कारण सञ्चालनमा आउन केही ढिला भएको हो, अब ३÷४ दिनमा नै कुन दिनबाट सञ्चालनमा आउँछ भन्ने कुरा जानकारी गराउँने छौँ,’ अग्रवालले मेरोअटोसँग भने ।

उनले हाल रातिको समय स्मार्ट पार्किङको टेस्ट तथा रि–टेस्टको काम भइरहेको समेत जानकारी दिए । उनका अनुसार सो पार्किङमा सवारी साधन राख्ने मानिसले बुकिङ गरेको १५ मिनेट भित्र सवारीसाधन पार्किङ स्थलमा पुर्याउनु पर्नेछ । १५ मिनेटसम्म पनि गाडी पार्किङ स्थलमा नआएको खण्डमा त्यो बुकिङ स्वत खारेज हुनेछ । 

उक्त पार्किङ स्थालमा सकभर थोरैमात्र समयका लागि सवारी राख्न आग्रहसहित सवारी पार्किङको सुविधाका प्रदान गरिने छ  । 

विहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा प्रयोग गर्न सकिने सो पार्किङलाई आगामी साता भित्रसञ्चालन ल्याउन सकिने अग्रवालले जानकारी दिए । सेन्सर जडित सो स्मार्ट पार्किङका लागि आइफोन र एन्ड्रोइड मोबाइलमा पार्क केटिएम एप डाउनलोड गरेर पार्किङका लागि बुकिङ गर्न सकिने छ  । 

बुकिङ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिने अग्रवालले जानकारी दिए । 

वैशाख १ गतेबाट न्युरोडस्थित रामेश्वरम् मिठाई पछाडिको भाग, विशाल बजारअगाडि, इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ सुरु गरिने महानगरपालिको योजना रहेको थियो ।

यी स्थानहरुमा एकपटकमा करिब ८ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने इञ्जिनियर अग्रवालले जानाकारी दिए । 


Back_to_top