२६ लाखमै सोलार कार

काठमाडौं । अफिस र घर गर्ने जो केहिलाई सहज हुने सोलार प्यानल जडान भएको कार नेपालमा विक्री सुरु भएको छ । कारलाई दिनको उज्यालोमा ६ घन्टा पार्किङ गर्दा ३०० वाटको सोलार प्यानलले करिब २.४ किलोवाट हरेक दिन चार्ज गर्छ । उक्त चार्जले ४० किलोमिटर रेञ्ज प्रदान गर्न पुग्ने कम्पनीको दाबी छ ।

विद्युतीय गाडीको चर्चा बढ्दै गएको समयमा नेपाल आएको विद्युतीय र सोलार सहितको कारको विक्री सुरु भएको हो । नेपालको लागि चिनीयाँ डेरी ब्राण्डको आधिकारीक वितरक अटोहोस्टले नेपाल ल्याएको यो सोलारसहितको कार कम मूल्य, कम संचालन लागत र किफायती भएकै कारण अहिले चर्चा रहन सफल भएको हो ।

कम्पनीले ल्याएको नयाँ इएम ७ मोडल इलेक्ट्रीक तथा सोलार दुबै स्रोतबाट चलाउन मिल्ने कार हो । नेपालमा विक्री हुने पहिलो सोलार जडान भएको कारको रुपमा आएको इएम ७ विशेषत सहरी क्षेत्रलाई मध्यनजर गर्दै ल्याइएको कम्पनीको दाबी छ ।

लिथियम एनसीएम व्याट्री जडान भएको यो कारमा रियर ह्वील ड्राइभ सिस्टम दिइएको छ । यसमा रहेको १५ किलोवाट आवरको व्याट्रीलाई ३.५ किलोवाटको चार्जरबाट घरायसी विजुलीमा चार्जगर्दा फुलचार्ज हुन अधिकतम ५ घन्टा ३० मिनेट लाग्ने छ ।

इएम ७ लाई इको मोडमा चलाउँदा एक पटकको फुल चार्जमा १७४ किलोमिटर रेञ्ज दिने कम्पनीले दावी गरेको छ । कारको उच्चगति क्षमता भने ६० किमि प्रतिघण्टा रहेको छ ।

१७० एमएम ग्राउन्ड क्लियरेन्स भएका यी कार मूल्यका हिसावले उत्कृष्ट रहेको कम्पनीको दाबी छ । इएम ७ को २६ लाख ५० हजार रुपैयाँ छ । अहिले किन्ने ग्राहकले  ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

गाडीको साइज पनि आकर्षक रहेको छ । थोरै स्थानमा पार्किङ गर्न सकिने इएम ७ को लम्बाई ३३८० एमएम, चौडाई १५५० एमएम र उचाई १५०० एमएम मात्रै छ भने, यसको ह्वीलवेस २२६० एमएम रहेको छ । यसमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

सोलार कारमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील जस्ता फिचर दिइएको छ ।


Back_to_top