एमजीका कारमा हजार किलोमिटर रेन्ज दिने ब्याट्री

काठमाडौं । एसएआइसी मोटर कर्पोरेशन र छिङटाओ ब्याट्री उत्पादक कम्पनी बीचमा सोलिड स्टेट ब्याट्री बनाउन संयुक्त लगानीमा नयाँ कम्पनी बनेको छ । यी दुई कम्पनी मिलेर १ हजार किलोमिटर रेन्ज दिने सोलिड स्टेट ब्याट्री बनाउने भएका हुन् ।

एमजी, मेक्सस, बाओजुन जस्ता ब्राण्डको स्वामित्व रहेको एसएआईसी ग्रुपले ईभी उत्पादनलाई तिब्रता दिदै आएको छ । कम्पनीले विलिङ र जनरल मोटर्ससँग मिलेर पनि विलिङ ब्राण्डमा ईभी उत्पादन गर्दै आएको छ ।

कम्पनीको तयारी हेर्दा सन् २०२५ बाट एमजीका केही मोडलमा सोलिड स्टेट ब्याट्रीमा आउने सम्भावना देखिएको छ । एमजीका उत्पादन यूरोप र एशियाली देशमा बिक्री वितरण हुँदै आएका छन् । यस्तोमा नयाँ ब्याट्रीमा एमजी आउँदा सिंगल चार्जमा १ हजार किलोमिटर माथि रेन्ज हुने बताइन्छ ।

अहिले एसएआईसीले सबैभन्दा धेरै ब्याट्री सीएटीएलबाट लिँदै आएको छ । तर, एसएआईसीले सोलिड स्टेट ब्याट्रीको लागि भने आफ्नै संयुक्त लगानीमा नयाँ कम्पनी बनाउने भएको हो । उसले सोलिड स्टेट ब्याट्रीमा काम गर्दै आएको छिङटाओ स्टार्टअप कम्पनीसँग मिलेर नयाँ कम्पनी बनाएको छ ।

नयाँ संयुक्त लगानीको कम्पनीमा एसएआईसीले ४९ प्रतिशत सेयर राखेको र मेजर ५१ प्रतिशत सेयर छिङटाओ कम्पनीलाई नै दिएको छ । एसएआइसीले यसमा १३७ मिललियन डलर लगानी गरेको सिएनईभी पोष्टले उल्लेख गरेको छ ।

एसएआइसीले छिङटाओ कम्पनीसँग २०२० देखिनै काम गर्दै आएको थियो कम्पनीले २०२०, २०२२ र २०२३ गरेर लगानी बापतको रकम छिङटाओलाई दिएको हो । कम्पनीले २०२२ जुलाई ६ तारिखमा भने सोलिड स्टेट ब्याट्रीमा दुई कम्पनी मिलेर काम गरिरहेको जनाएको थियो ।

एसएआईसीले सन् २०२५ बाट सोलिड स्टेट ब्याट्री प्रयोग भएको एक लाख यूनिट इलेक्ट्रीक कार उत्पादन गर्ने लक्ष्य लिएको छ ।


Back_to_top