काठमाडौं । भारतीय ट्याक्टर उत्पादक कम्पनी सोनालिकाले आफ्नो पहिलो इलेक्ट्रीक ट्याक्टर बजारमा ल्याएको छ । योसँगै कम्पनी भारतमा नै पहिलो इलेक्ट्रीक ट्याक्टर निर्माण गर्ने कम्पनी समेत भएको छ ।
भारतीय बजारमा थुप्रै कम्पनीले ट्याक्टर उतपादन र विक्री गर्दै आएका छन् । सोनालिका नेपालमा पनि विक्री हुँदै आएको ट्याक्टर हो । कम्पनीले यो इलेक्ट्रीक ट्याक्टरको नाम टाइगर इलेक्ट्रीक राखेको छ ।
यूरोपमा डिजाइन गरिएको यो ट्याक्टर प्रदुषण रहित रहेको कम्पनीले दाबी गरेको छ । यसले कुनै किसिमको आवज समेत निकाल्दैन । कम्पनीले यसमा आईपी६७ कम्प्लाइन्टको २५.५ किलोवाट आवर क्षमताको व्याट्री दिएको छ । कम्पनीको दाबी अनुसार यसले डिजेलबाट चल्ने ट्याक्टरको तुलनामा एक थौथाईभन्दा कम खर्च गर्ने छ ।
कम्पनीले गरेको दाबी अनुसार यसलाई घरायसी चार्जरबाट चार्जगर्दा १० घन्टामा फुल चार्ज हुन्छ । यसरी एक पटकको फुलचार्जमा यसलाई ८ घन्टासम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ । यसमा फास्ट चार्जरको सुविधा समेत उपलब्ध रहेको छ ।


