काठमाडौं । भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राको ७४.५६ प्रतिशत स्वामित्व रहेको कोरियन अटोमोवाइल कम्पनी साङयोङले बैंकको किस्ता तिर्न नसक्दा गम्भिर आर्थिक संकटमा फसेको छ । सन् २०१० मा किनेको महिन्द्राले लगातार घाटा भइरहेकोे कम्पनीलाई थप लगानी गर्न नसक्ने यसअघि नै जनाइसकेको छ । महिन्द्राले आफ्नो सबै सेयर विक्री गर्न लगानीकर्ता खोजिरहेको छ ।
कम्पनीले बैंकरप्सीबाट जोगिनका लागि अदालतमा रीसीभरसिभ फाइल गरेको छ । कम्पनीले आफूलाई खारेज हुन बाट जोगाउन गरेको अन्तिम प्रयास के हुने हो परिणाम भने हेर्न बाँकी नै छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अदालतले कम्पनीलाई जोगाउन कर्जा पुनर्तालीकरण गर्ने र नयाँ लगानीकर्ता खोज्न समय दिन सक्ने अनुमान गरिएको छ । साङयोङले डिसेम्बर १४ सम्म बैंकहरुको ६० बिलियन ओन (कोरियन करेन्सी) कर्जा भूक्तानी गर्न सकेको छैन ।
कम्पनीलाई बैक अफ अमेरिकाको ३० बिलियन ओन, जेपी मोर्गनको २० बिलियन ओन तथा बीएनपी परिबासको १० बिलियन ओनको कर्जा लगानी रहेको छ । अन्तर्राष्ट्रिय बजारमा साङयोङको विक्रीमा पनि गिरावट आइरहेको छ । गत जनवरीदेखि नोभेम्बरसम्ममा २० प्रतिशतले गाडी विक्री घटेको कम्पनीले यस अवधिमा ९६ हजार ८ सय २५ युनिट एसयूभी विक्री गरेको छ ।

