चर्चित जापानीज कार ब्राण्डको ८ नयाँ ईभी मोडल घोषणा

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी सुबरुले ८ नयाँ ईभी मोडल बजारमा ल्याउने घोषणा गरेको छ । सुबरुले सन् २०२८ सम्ममा ८ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको हो ।

त्यसको सुरुवातमा सन् २०२६ भित्र ४ नयाँ मोडल र त्यसपछिको दुई वर्ष अर्थात् सन् २०२८ सम्ममा ८ नयाँ मोडल ल्याउने योजना बाहिर ल्याएको हो । यी ८ मोडलको सहायतामा कम्पनीले सन् २०३० सम्ममा ६ लाख ईभी बिक्री लक्ष्य लिएको छ ।

यसअघि सुबरुले सन् २०२६ सम्ममा ४ वटा ग्लोबल मोडल लन्च गर्ने जनाएको थियो । अब भने कम्पनीले २ वर्षको थप समय लिएर पहिलेको योजनाभन्दा डबल संख्यामा नयाँ कार लन्च गर्ने भएको हो ।

सुबरुले आफ्नो ईसुबरु ग्लोबल प्लेटफर्ममा आधारित भएर प्यासेन्जर कार र एसयूभी सेग्मेन्टमा नयाँ ईभी रेन्ज नै लन्च गर्ने जनाएको छ । सुबरुले अउडी, बीएमडब्लू तथा मर्सिडिज बेन्जले जस्तै आफ्नो भइरहेको मोडल तथा नयाँ बडी स्टाइलमा ईभी ल्याउने भएको हो ।

अमेरिकी बजारमा बढ्दो ईभीको मागले सुबरुलाई नयाँ ईभी लन्च गर्ने मोटिभेसन मिलेका बताइएको छ । कम्पनीले अमेरिकामा मात्रै ४ लाख ईभी बिक्री गर्ने लक्ष्य लिएको हो ।

सुबरुले सन् २०२५ सम्ममा जापानको प्लान्टबाट २ लाख ईभी उत्पादन गर्ने जनाएको छ । जुन सन् २०२७ सम्ममा ४ लाख पुग्ने बताइएको छ ।

सुबरुले ब्याट्री इलेक्ट्रीक भेहिकलको लागि आवश्यक ब्याट्री सप्लाईका लागि पानाशोनीकसँग नयाँ जेनेरेशनको सिलिण्ड्रीकल ब्याट्री खरिद गर्ने सम्झौता गरिसकेको छ । पानाशोनीकले टेस्लालाई पहिलेदेखि नै ब्याट्री सप्लाई गर्दै आएको छ ।


Back_to_top