काठमाडौं । स्पोर्टस् युटीलीटी भेहिकल (एसयूभी) र ह्याचव्याक सेग्मेन्ट नेपालमा सबैभन्दा धेरै बिक्री हुने सेग्मेन्ट हो । विगतमा एसयूभीको हिस्साभन्दा धेरै बढी ह्याचव्याक कार बिक्री हुन्थ्यो । विगत पाँच वर्षदेखि एसयूभीको हिस्सा ठूलो भएको छ ।
अझ, विद्युतीय साधनले चर्चा पाउनु केही अगाडि ह्याचव्याक कारको बजार निकै सानो भइसकेको थियो । ईभी आयात बढ्न थालेसँगै ह्याचव्याक कारले पनि कम्ब्याक गरेको देखिन्छ ।
अहिलेको ट्रेन्ड थाहापाउन धेरै लामो तथ्यांक आवश्यक पर्दैन । त्यसैले आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनाको आयातलाई केलाएर हेर्ने हो भने पनि सहजै अहिलेको ट्रेन्ड थाहापाउन सकिन्छ ।
साउनदेखि कार्तिक मसान्तसम्म आयात भएका कुल इलेक्ट्रीक कार र पीकअपको संख्या ३ हजार ३१ यूनिट छ । जसमा सबैभन्दा धेरै एसयूभी आयात भएको छ । चार महिनाको अवधिमा १ हजार ६५२ युनिट एसयूभी आयात भएका छन् । जुन कुल आयातको ५४.५० प्रतिशत हुन आउँछ ।
ह्याचव्याक सेग्मेन्टमा मिनी कारदेखि टाटा टियागो, नामी, विङगो, डल्फीन जस्ता कार आउँछन् । यो सेग्मेन्टमा कुल १ हजार ६ युनिट कार आयात भएका छन् । मिनी कारमा एमजी कोमेटको एकछत्र राज छ । कुल आयातमा ह्याचव्याक सेग्मेन्टको हिस्सा ३३.१९ प्रतिशत छ ।

सेडान सेग्मेन्टमा टाटा टिगोरको लगभग एकछत्र बजार रहेको छ । चार महिनाको अवधिमा आयात भएको सेडान कारको संख्या ३५३ छ । सेडान सेग्मेन्टको बजार हिस्सा ११.६४ प्रतिशत देखिन्छ । यसमा दीपल एल–०७ र जेएमसीको नयाँ ईभी पनि आयात भएको छ ।
एमपीभी सेग्मेन्टमा विद्युतीय गाडी लगभग आयात छैन भन्दा हुन्छ । चार महिनामा २ यूनिट मात्रै एमपीभी आयात भएको छ भने पीकअप सेग्मेन्टमा १८ यूनिट आयात भएको देखिन्छ ।
माथिको तथ्यांकले बजारमा विद्युतीय साधनको माग उच्च बन्दा उपभोक्ताको पहिलो रोजाई क्रसओभर एसयूभी सेग्मेन्ट भएको देखिन्छ । यो सेग्मेन्टमा बीवाइडी एटो-३, ओमोडा ई-५, दीपल एस-०७, टाटा पन्च जस्ता मोडल अग्रस्थानमा छन् । पछिल्लो दिनमा आयात सुरु भएका जेको जे-६ र लीप मोटरको सी-१० एसयूभीले पनि बजारमा राम्रै छाप छाड्न सफल भएका छन् ।
सन् २०२५ लागेसँगै बजारमा थप नयाँ मोडलहरु आउँदै छन् । नयाँ आउने मोडलमा अधिकांश एसयूभी रहेको कारण एसयूभीको बजार हिस्सा ईभीमा थप बढ्ने अनुमान गर्न सकिन्छ ।

