नाडा अटो शो २०२४ को ‘एक्लो वृहस्पति’ सुजुकी

काठमाडौं । नाडा अटो शो २०२४ लाई ईभी शो भन्दा फरक नपर्ने देखिन्छ । अटो शोमा भाग लिने ९९ प्रतिशत बढी ब्राण्डका विद्युतीय सवारीसाधन (ईभी) उपलब्ध हुने छन् ।

तर, सुजुकीको भने अटो शोमा कुनै विद्युतीय कार हुने छैनन् । मारुती सुजुकीले अहिलेसम्म कुनै पनि इलेक्ट्रीक मोडल बजारमा ल्याएको छैन । जसकारण अटो शोमा सुजुकी कम्बस्चन कार मात्रै हुने एक्लो ब्राण्ड बन्ने देखिएको छ । ईभी नै ईभीको भीडमा सुजुकी आइसीई कार हुने ‘एक्लो वृहस्पति’ बन्ने देखिएको हो ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा रहेको कम्पनीले भिटारा, जिम्नी, फ्रङ्कस, ब्रेजा जस्ता आफ्नो बलियो एसयूभी लाइनअप प्रदर्शनी गर्नेछ ।

चिनियाँ कारको दबदबा रहेको बजारमा हुन्डाईसँग आयोनिक-फाइभ, महिन्द्रासँग एक्सयूभी ४००, कियासँग ईभी-सिक्स तथा ईभी-नाइन, सिट्रोनसँग ईसीथ्री जस्ता मोडल हुनेछन् ।

नाडा अटो शो २०२४ को अर्को रोचक पक्ष मारुती सुजुकी बाहेक अन्य कुनै पनि जापानीज लिगेसीको ब्राण्ड पनि सहभागि भएका छैनन् । अहिले पनि जापानी ब्राण्ड टोयोटा, निसान, होन्डा, माज्दा, सुवरु नेपाली बजारमा उपलब्ध छन् । यी कुनै पनि ब्राण्डले अटो शोमा भाग लिने छैनन् ।

भारतीय विद्युतीय कार लिडर टाटाले अटो शोमा ईभी देखाउने छ । कम्पनीसँग टियागो ईभी र पन्च ईभी बिक्रीको लागि उपलब्ध हुनेछ । सम्भवतः कम्पनीले देखाउनको लागि पनि नयाँ ईभी ल्याउने छ ।

चिनियाँ जाइन्ट बीवाइडीले आफ्नो चल्तीका मोडल एटो-थ्री र डल्फिनसँगै नयाँ कार ल्याउन सक्ने देखिन्छ । अर्को चिनियाँ ब्राण्ड अमोडाले ई-५ सँगै जेको जे-६ मोडल प्रदर्शनीमा राख्नेछ ।

अन्य चिनियाँ ब्राण्ड एमजी, नेटा, स्काईवेल, एवोन, सेरेस, डोङफेङ नामी, लिप मोटर्स, रेडारा, एक्सपेङ, अवतार, दीपल, जीकर, केई, हेनरी भोल्ट्स जस्ता ब्राण्डले आफ्नो उत्पादन प्रदर्शनी गर्नेछन् ।


Back_to_top