चीनमा केबल दुई ईभी कम्पनी नाफामा

काठमाडौं । चीनमा करिब १०० वटा न्यू इनर्जी भेहिकल कम्पनी रहेकोमा अधिकांश घाटामा छन् । सार्वजनिक रिपोर्ट अनुसार बीवाइडी र एलआई अटो मात्र दुई भाग्यमानी कम्पनी हुन्, जसले नाफा कमाउन सफल भएका छन् ।

चीन एशोसियशन अफ लिस्टेड कम्पनीका प्रेसिडेन्ट सोङ जीपीङका अनुसार चीनमा रहेको पेट्रोलियम पदार्थबाट चल्ने र न्यू इनर्जी भेहिकल उत्पादन गर्ने कम्पनी मात्रै नाफामा छन् । नत्र अन्य स्टार्टअप कम्पनीहरुले लगानी गरेर घाटा ब्योहोरिरहेका छन् ।

दुबै किसिमका इन्धनबाट चल्ने गाडी बनाउने उत्पादकले बनाएको ईभीतिरको मात्र हिसाब हेर्ने हो भने सबै कम्पनी घाटामा छन् । त्यसोभन्दैमा आजैबाट इलेक्ट्रीक कारको उत्पादन सुरु नगरेमा भविष्य नरहने सम्भाबना देखिएको प्रेसिडेन्ट सोङले बताए ।

सन् २०२३ मा एलआई अटोको १७ बिलियन अमेरिकी डलरको रेभीन्यू थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा १७३.५ प्रतिशत रेभीन्यू वृद्धि गरेको थियो । एलआई अटोले १७ बिलियन डलरको कार बिक्री गर्दा १.६ बिलियन नाफा कमाएको थियो ।

बीवाइडी विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी हो । उसले गतवर्ष ३०.०४ बिलियन मूल्य बराबरको कार बिक्रीको थियो । त्यसबाट उसले ४.२३ बिलियन डलर नाफा कमाएको हो ।

बीवाइडीले अघिल्लो वर्षको भन्दा ४२.०४ प्रतिशतले बिक्री बढाउँदा नाफा भने ८०.७२ प्रतिशतले बढाएको हो । बीवाडीले सन् २०२३ मा आफ्नो प्लान्टलाई ८० प्रतिशत क्षमता प्रयोग गर्न सफल भएको थियो ।

चीनको अर्को चर्चित कम्पनी नियोले एक वर्षमा ७.६ बिलियन डलर मूल्य बराबरको कार बिक्री गरेको थियो । त्यसको बाबजुद उसलाई २.८५ बिलियन डलर नोक्सानी भएको देखिन्छ । नियोले प्रति कार १३ हजार ७५० डलर घाटा व्यहोरेको छ ।

स्टार्टअप कम्पनी एक्सपेङको बिक्री पनि बढेको छ । तर, कम्पनीले नाफा कमाउन सकेको छैन । एक्सपेङले ४.२ बिलियन डलर मूल्य बराबरको कार बिक्री गर्दा १.४ बिलियन डलर घाटा व्यहोरेको हो ।

चीनका धेरै ईभी कम्पनीहरु नाफा बढाउन भन्दा पनि मार्केट शेयर बढाउन लागीपरेका छन् । चीनका परम्परागत ठूला गाडी बनाउने कम्पनीहरु आइसीई गाडी बेचेर कमाएको पैसा ईभी प्रोजेक्टमा लगाइरहेका छन् ।

ग्लोबल डाटाका अनुसार सन् २०२३ मा चीनमा १५० एक्टीभ अटोमोवाइल ब्राण्डहरु छन् । जसमा ९७ वटा प्योर चाइनीज र ४३ वटा विदेशी ब्राण्डसँग संयुक्त लगानीमा खुलेका हुन् ।

चीनमा अटोमोवाइल कम्पनीहरुको सन् २०२३ को फ्याक्ट्री क्षमताको प्रयोग ५९ प्रतिशत रहेको थियो । त्यसमा टेस्लाले ९२ प्रतिशत र बीवाइडी ८० प्रतिशत क्षमतामा फ्याक्ट्री चलाएका छन् ।

कोरियन कम्पनी हुन्डाईले आफ्नो कुल क्षमताको २३ प्रतिशत प्रयोग गरेको छ । चीनमा रहेका अटोमोवाइल कम्पनीका १७ प्रतिशत फ्याक्ट्रीले  १० हजार भन्दा कम युनीट उत्पादन गर्न सकेको देखिन्छ । अझ २० प्रतिशत फ्याक्ट्रीले त झन एक वर्षमा १ हजार भन्दा कम मात्र कार बनाएका थिए ।


Back_to_top