तयार भयो सुजुकी इलेक्ट्रीक स्कुटर, शनिबारदेखि परीक्षण सुरू

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर कम्पनी सुजुकी इलेक्ट्रीक दुईपाँग्रे उत्पादनमा जाने भएको छ । कम्पनीले पहिलो इलेक्ट्रीक दुईपाँग्रेको रूपमा ई–वर्गम्यान ल्याउने भएको हो ।

कम्पनीले ई–वर्गम्यानको आधिकारिक तस्वीर बाहिर ल्याएको हो । यसअघि नै भारतीय बजारमा सुजुकी वर्गम्यान इलेक्ट्रीका परीक्षण भइरहेको छ ।

टीभीएस र बजाज मूलधारका दुईपाँग्रे उत्पादक कम्पनीहरूले यसअघि नै इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरेर राम्रो बजार हिस्सा ओगट्न सफल भइसकेका छन् ।

त्यस्तै, सन् २०२४ मा होन्डाले आफ्नो इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ भने यामाहाले पनि २०२४ को अन्त्यसम्ममा भारतीय बजारमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

सुजुकीले टोकियो बेस एक ब्याट्री कम्पनीसँगको सहकार्यमा ब्याट्री सेयरिङ सर्भिसका लागि काम गरिरहेको जनाएको छ । कम्पनीले शनिबार ९अप्रिल १ देखि० जुनसम्म ८ ओटा इलेक्ट्रीक वर्गम्यानको फिल्ड टेस्ट गराउने भएको छ । यो टेस्टमा सर्वसाधारणले समेत भाग लिन पाउने कम्पनीले जनाएको छ ।

यस्तो छ वर्गम्यान इलेक्ट्रीक

वर्गम्यान इलेक्ट्रीकमा ४ किलोवाट पिक पावर भएको मोटर रहेको छ । यसले अधिकतम १८ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यसमा स्वाप गर्न मिल्ने लिथियम आयन ब्याट्री रहेको बताएको छ । यसालाई एक पटक फुलचार्ज गरेर ४४ किलोमिटरसम्म गुडाउन सकिने दाबी गरेको छ ।

यो स्कुटरको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको कुल तौल १४७ केजी छ । सुजुकी वर्गम्यान इलेक्ट्रीकको लम्बाइ १८२५ एमएम, चौडाइ ७६५ एमएम, उचाइ ११४० एमएम र सिटको उचाइ ७८० एमएम छ ।


Back_to_top