काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीले ‘ईभीएक्स कन्सेप्ट’मा आधारित पहिलो पूर्ण इलेक्ट्रीक एसयूभी सन् २०२४ को अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले आफ्नो पहिलो ईभी जापानीज अटोमोवाइल कम्पनी टोयोटासँगको सहकार्यमा विकास गरिरहेको छ ।
मारुती र टोयोटाको वर्न ईभी एसयूभी सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुनेछ । कम्पनीले उक्त प्लान्टबाट वार्षिक १ लाख २५ हजार गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
गुजरात प्लान्टमा उत्पादित ईभी भारतको साथै, अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने मारुती सुजुकीले योजना बनाएको छ । यो ईभीएक्स एसयूभी टोयोटाले विकास गरेको ‘४०-पीएल स्केटबोर्ड आर्किटेक्चर’मा बन्ने छ ।
मारुती सुजुकीले इलेक्ट्रीक एसयूभी पोल्याण्डमा सडक परिक्षण गरिरहेको तस्विर बाहिर आएको थियो । लगभग प्रोडक्सनको लागि तयार अवस्थामा देखिएको यो एसयूभीको लम्बाई ४.३ मिटर रहेको छ ।
कम्पनीले यसमा २७०० एमएम लामो ह्वीलवेस दिएको र स्केटबोर्ड प्लेटफर्ममा बनेको कारण क्याविन स्पेश प्रसस्त हुने अनुमान गरिएको छ ।
सन् २०२३ को अटो एक्स्पोमा देखाइए ईभीएक्स् कन्सेप्टमा ६० किलोवाट आवरको ब्याट्रीप्याक रहने गरिएको छ । यसको रेन्ज ५५० किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।
मारुती सुजुकीले मूल्यलाई ध्यानमा राख्दै इन्ट्री भेरियन्टको रुपमा ४८ किलोवाट आवर क्षमताको ब्याट्रीमा पनि यो एसयूभी ल्याउने अनुमान गरिएको छ । यसको रेन्ज भने सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रहने छ ।

