सुजुकीको संकट मोचक

काठमाडौं । अहिले पेट्रोल कार मात्रै बिक्री गर्ने कम्पनीको अवस्था निकै कमजोर छ । सन् २०२१ मा नेपालको सबैभन्दा बढी साना चार पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने कम्पनीको सूचीमा अगाडि रहेको सुजुकी अहिले विद्युतीय मोडलको अभाव झेल्दैछ ।

नेपालमा विद्युतीय साधन प्रतिको क्रेज दिन दिनै बढ्दै गएको छ । बजारमा हिजो मात्रै प्रबेश गरेका विद्युतीय ब्राण्डले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि पुराना र परम्परागत पेट्रोलियम पदार्थबाट चल्ने गाडी बिक्रेताकोमा ग्राहक नै नपुग्ने अवस्था सृजना भएको छ । यस्तो संकट पूर्ण समयमा सुजुकीको संकटमोचक बन्न आइपुगेको छ, ‘जिम्नी’ ।

सुजुकी जिम्नी पेट्रोलबाट चल्ने सानो साइजको अफरोड एसयूभी हो । यसको मतलव यसलाई राम्रा सडकमा चलाउन नमिल्ने भन्ने होइन । नेपालको जस्तोसुकै बाटोमा पनि जिम्नी लिएर जान सकिन्छ । यसको उत्कृष्ट अफरोड क्षमताकै कारण विश्वभर यसले अलग पहिचान बनाएको छ । जिम्नीलाई सुजुकीले १९४ भन्दा धेरै देशमा बिक्री गर्दै आएको छ ।

अहिलेसम्म विश्वभर २५ लाख यूनिटभन्दा धेरै जिम्नी बिक्री भइसकेको छ । सन् २०२१ र २२ मा औषत वार्षिक १ लाख २५ हजार यूनिटभन्दा धेरै जिम्नी विश्वभर बिक्री भएको थियो । सन् २०२३ बाट भारतीय बजारमा जिम्नीको बिक्री सुरु भएको कारण यसको औषत बिक्री यूनिट थप बढ्ने अनुमान गरिएको छ । भारतमा बिक्री सुरु भएदेखि नै मासिक ३ देखि ४ हजार यूनिटको बीचमा यसको बिक्री हुँदै आएको छ ।

नेपालमा सुजुकीको संकट मोचक

जिम्नी नेपाल यस्तो समयमा आएको छ । जहाँ ईभीको बाहेक अन्य साधनको कुरा कसैले सुन्नै चाहँदैन भन्दा फरक पर्दैन । तर, जिम्नीको डिजाइन, प्रयोग र क्षमता अहिले ईभी खोज्नेको बहस बाहिरको विषय हो । अहिले नेपाल आएका सबै ईभी सहरी चिल्ला बाटामा प्रयोग गर्न लायक छन् । जिम्नीको प्रयोग नै बेग्लै भएको कारण यसले धेरैलाई आकर्षित गरिरहेको छ ।

चलाउन सहज, साइजमा कम्प्याक्ट, पफर्मेन्समा अब्बल भएकै कारण जिम्नीले ईभी लहरमा पनि सुजुकीको लागि संकट मोचकको भूमिका निर्वाह गरेको छ । हुनत सुजुकीसँग अन्य मोडल नभएका होइनन् । नेपालमै सबैभन्दा लामो प्रोडक्ट लाइनअप भएको सुजुकीसँग २४ लाखदेखि ९० लाख मूल्यसम्मका गाडी छन् ।

सहर केन्द्रित साना गाडीमा ईभी खोज्ने बढेसँगै पेट्रोलियम पदार्थबाट चल्ने साना ह्याचव्याक र कम्प्याक्ट एसयूभीलाई बजारमा टिक्नै मुस्किल भएको छ । सुजुकीले यस बीचमा नयाँ ब्रेजा, ग्राण्ड भिटारा र फ्रोङ्कस जस्ता मोडल बजारमा ल्याएको छ । त्यसमा थपिएको जिम्नीले सुस्ताउँदो बजारमा केही सकारात्मक संदेशहरु दिएको छ ।

यस्तो छ जिम्नी

सुजुकी जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ ।

कम्पनीले यसको अटोमेटीक भेरियन्ट पनि नेपालमा बिक्री सुरु गर्दैछ । अटोमेटीक गियरबक्स भने फोर स्पीड टर्क कन्भर्टर रहेको छ । जिम्नीको माइलेज भारतीय अटोमोवाइल रिसर्च एजेन्सी (एआरएआई)का अनुसार प्रतिलिटर १६.३९ किलोमिटर रहेको छ ।

सुजुकीले जिम्नी एसयूभीमा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ड्यासबोडमा दिइएको विभिन्न स्वीच बटम र ग्राभरेल यसको यूनिक फिचरमा पर्छन् ।

फोर वाई फोर सिस्टममा उपलब्ध जिम्नीमा सुरक्षाको लागि ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर पाउन सकिन्छ ।

यसमा हिल डिसेन्ट कन्ट्रोल, रियर भ्यु क्यामेरा, एबीएस, इबीडी जस्ता सुरक्षाका फिचर छन् ।


Back_to_top