टाटाको ‘हात्ती गाडी’ अब इलेक्ट्रीकमा पनि, किन्न प्रतिस्पर्धा

काठमाडौं । सामान ढुवानी गर्नेहरुको बीचमा निकै चर्चित टाटाको ‘छोटा हात्ती’ अर्थात् एस मोडल अब इलेक्ट्रीकमा आएको छ । कम्पनीले केही दिन अघि भारतमा यसको बुकिङ खुल्ला गरेको हो ।

टाटा मोटर्सका अनुसार टाटा एस इलेक्ट्रीकले सिंगल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्ने छ । टाटाले यसलाई ‘इभोजेन’ प्लेटफर्ममा तयार गरेको हो । यसमा एड्भान्स ब्याट्री कुलिङ र रिजेनेरेटीभ ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ ।

कम्पनीले यसमा २१.३ किलोवाट आवरको ब्याट्री दिएको छ भने २७ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । एस इलेक्ट्रीकमा ब्लुटुथ कनेक्टिभिटी सहितको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्नट क्लष्टर, रियर पार्किङ क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।

घरघरमा सामान पुर्याउन पनि विद्युतीय गाडीको प्रयोग गर्न सकियोस भनेर इलेक्ट्रीक कर्मशियल गाडी उत्पादनमा अग्रसरता लिएको टाटा ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले बताए ।

भारतमा बुकिङ खुल्ला भएको केही समयमा नै अमेजन, बिगबास्केट, सिटी लिंक, डट, फ्लिपकार्ट, मुभिङ र यलो ईभी जस्ता प्रमुख कम्पनीले यसको अर्डर प्लेस गरेका छन् । अहिले करिब ३९ हजार यूनिट बुकिङ रहेको बताइन्छ ।

नेपाली बजारमा पनि टाटा एस हात्ती गाडीको नामले परिचित रहेको छ । साना र छोटा बाटामा सामान ओसार पसार गर्न प्रयोग हुँदै आएको यो गाडी तराईका जिल्लाहरुमा यात्रु ओसार पसारमा पनि प्रयोग भएको पाइन्छ । निकै राम्रो बजार रहेको कारण एसको इलेक्ट्रीक भर्सन पनि नेपाल आउने छ ।


Back_to_top