थप १०० स्थानमा चार्जर राख्दै टाटा, ६ नयाँ ईभी ल्याउने तयारी

काठमाडौं । विद्युतीय कार उत्पादनमा एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको टाटा मोटर्सले नेपालमा निकै आक्रमक ब्यापार गर्दै आएको छ । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेपालमा उपलब्ध गराए देखिनै नेक्सन ईभी किन्ने ग्राहक प्रतिक्षामा थिए ।

कम्पनीले नेक्सन ईभीको बिक्री सुरु गर्नुअघि नै देशका मुख्य सहरमा ईभी चार्ज गर्ने व्यवस्था मिलाएको थियो । कम्पनीले सुरुमा नै करिब एक दर्जन स्थानमा डिसी फास्ट चार्जर जडान गरेर नेक्सन ईभीको बिक्री सुरु गरेको थियो ।

नेक्सनको सफलतासँगै टाटाले टिगोर ईभी ल्याएर ग्राहकलाई छनोट दिन सफल भएको थियो भने नयाँ नयाँ स्थानमा ग्राहकको माग अनुसार एसी र डिसी चार्जर जडानलाई निरन्तरता दिएको थियो । टाटा अहिले कम्पनीले झण्डै दुई दर्जन स्थानमा डिसी चार्जर र १०० भन्दा बढी स्थानमा एसी चार्जर राखेको छ ।

टाटाका ईभी नेपाली सडकमा २ हजार ५ सय यूनिट भन्दा बढी गुड्न थालिसकेका छन् । ईभीको संख्या बढ्दै गएसँगै कम्पनीले चार्जिङ नेटवर्क बिस्तार र सर्भिसको लागि डेडिकेटेड सर्भिस सेन्टर निर्माणलाई तिब्रता दिएको कम्पनीको भनाइ छ ।

कम्पनीले अब थप १०० स्थानमा डिसी फास्ट चार्जर स्थापना गर्ने तयारी गरिरहेको कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले बताए ।

‘सिप्रदी जहिले पनि ईभीको आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको कम्पनी हो । यसअघि पनि हामीले करिब १०० स्थानमा चार्जर जडान गरेर संचालनमा ल्याएका छौं । अब आवश्यक देखिएका १०० स्थानमा थप चार्जर जडान गर्ने तयारी थालेका छौं’, सीईओ श्रेष्ठले मेरोअटोसँग भने ।

सिप्रदीले चार्जिङसँगै सर्भिस नेटवर्क विस्तारमा पनि निकै आक्रमक रणनीति अपनाएको छ । कम्पनीले काठमाडौं, विर्तामोड, इटहरी, ढल्केवगर, हेटौडा, चितवन, भैरहवा, पोखरा, दाङ, नेपालगंज, वर्दिया र धनगढीमा आफ्नो डेडिकेटेड सर्भिस सेन्टर संचालनमा ल्याइसकेको छ ।

दुई वर्षमा ६ नयाँ मोडल आउने

अहिले नेक्सन र टिगोर ईभी बिक्री गर्दै आएको सिप्रदीले आगामी दुई वर्ष भित्र ६ नयाँ मोडल नेपाल ल्याउने छ । कम्पनीले चाँडै टियागो ह्याचव्याक ल्याउने छ ।

त्यसपछि पन्च ईभी, अल्ट्रोज ईभी, एच फाइभ ईभी, सफारी ईभी र कर्भ ईभी मोडल नेपाल ल्याउने छ । यी सबै मोडल सन् २०२५ सम्ममा बजारमा ल्याउने गरी टाटाले काम गर्दै आएको छ ।


Back_to_top