काठमाडौं । भारतीय दुई ब्राण्ड टाटा र महिन्द्रा बीच कडा प्रतिस्पर्धाको संकेत देखिएको छ । भारतमा एसयूभी एक्सपर्टको उपनाम पाएको महिन्द्रा र पछिल्लो दिनमा आक्रमक एसयूभी उत्पादनमा लागेको टाटा बीच कुप्पे डिजाइनको एसयूभी ल्याउने तयारीमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
टाटाले दुई महिनाअघि कर्भ कन्सेप्ट सार्वजनिक गर्दै आफु कुप्पे डिजाइनमा एसयूभी ल्याउन काम गरिरहेको जनाएको थियो । टाटाले कर्भको कन्सेप्ट सार्वजनिक गरेकै समयमा सन् २०२५ को मध्यसम्ममा यो एसयूभी बजारमा आउने जनाएको थियो ।
गत अगष्ट १५ तारिखमा महिन्द्राले पनि ५ नयाँ इलेक्ट्रीक मोडलको कन्सेप्ट सार्वजनिक गर्दै सन् २०२५ को अक्टुवरमा बीई ०५ बजारमा ल्याउने घोषणा गरेको छ ।
बीई ०५ को कन्सेप्ट र टाटाको कर्भ कन्सेप्टमा धेरै भिन्नता छन् । साथै, दुबै ब्राण्डले एउटै समयमा एसयूभी बजारमा ल्याउने जनाएका छन् । यस्तोमा यी दुई ब्राण्डको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
डिजाइनमा फरक
दुबै एसयूभी कुप्पे डिजाइनमा रहेपनि महिन्द्राको बीइ०५ को फ्रन्ट डिजाइन आकर्षक स्क्वायर सेपमा तयार भएकोले उत्कृष्ट रोड प्रेजेन्सको देखिएको छ । ठूलो साइजको एयरड्याम सहितको प्रमिनेन्ट फ्रन्ट फेसियाले यो कारलाई स्पोर्टी लुक्स दिएको छ ।

साइडमा दिएको मस्कुलर तथा स्क्वायर सेपको ह्वील आर्क, डिप सोल्जर लाइन तथा रियर रेक्ट्रयाङ्गुलर ब्लक सि–सेपको लाइटले बीई ०५ निकै आकर्षक देखिएको छ ।
उता टाटा कर्भ क्लीन डिजाइन सहितको चल्तीको कुप्पे कार जस्तो देखिन्छ । यसमा अनावश्यक क्रिज र डिजाइन एलीमेन्टको प्रयोग भएको छैन । अगाडि नोजको वारपार देखिएको डीआरएल रनिङ लाइट तथा स्प्लीट हेडलाइट निकै आकर्षक देखिन्छ । साथै, ट्रयाङगुलर सेपको लाइट बम्परमा दिइएको छ । यसले कारलाई स्पेशएजको जस्तो देखाएको छ । सिम्पल डिजाइन, स्लोपीङ रुफलाइन तथा फ्रन्टको जस्तै रियरमा पनि बुटको वारपार रहेको एलइडी लाइटको प्लेसिङले यसलाई अत्याधुनिक देखाएको छ ।

दुबै ईभीको क्यावीन सिमीलर खालको देखिन्छ । दुबैमा टु स्पोक स्टेरिङ ह्वील, इन्टुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टमका लागि दुइवटा डिस्प्ले रहेको छ । दुबैमा गियर सेलेक्सन र मल्टी फङ्सनका लागि रोटरी डायल रहेको छ ।
आर्किटेक्चरमा फरक
महिन्द्राको नयाँ रेन्जको बीई ईभीहरु इनग्लो (इन्डिया ग्लोबल) ईभी स्केटबोर्ड प्लेटफर्ममा बनेको हो । यो धेरै हदसम्म फक्सवागेनको एमइबी प्लेटफर्मबाट प्रभावित भएको छ ।
महिन्द्राको बीई ०५ को लम्बाई ४३७० एमएम, उचाई १९०० एमएम, १६३५ एमएमको चौडाई तथा २७७५ एमएमको ह्वीलवेस रहेको छ । महिन्द्राले बीई ईभीमा २०० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
टाटाको कर्भ न्यूजेनेरेशन २ आर्किटेक्चरमा बन्ने छ । यो नयाँ प्लेटफर्म सबै प्रकारको बडी स्टाइल, धेरै प्रकारको पावरट्रेन तथा फरक फरक ब्याट्री साइज अटाउने कम्पनीले जनाएको छ ।

टाटाले कर्भलाई सुरुमा ईभी र पछि आईसी इन्जिनमा ल्याउने बताएको छ । कर्भको लम्बाई पनि ४३०० एमएम हुने अनुमान गरिएको छ । यसमा टाटाको अन्य ईभी जस्तै उत्कुष्ट ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
ब्याट्री र रेन्जमा फरक
महिन्द्राको नयाँ इनग्लो प्लेटफर्मको मूख्य फाइदा भनेको यसमा दुबै व्लेड र प्रिज्म्याटिक सेल ब्याट्री प्याक राख्न मिल्छ । महिन्द्राको यो ईभीमा ६० देखि ८० किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसमा १७५ किलोवाटको फास्ट चार्जिङ अप्सन रहेको छ । जसले ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ ।

यो ईभीमा रियल ह्वीलका साथै अलह्वील ड्राइभ सिस्टम उपलब्ध हुनेछ । कम्पनीले यो कारको रेन्ज ४५० किलोमिटरको आसपास हुने जनाएको छ ।
टाटा मोटर्सले कर्भमा प्रयोग हुने ब्याट्रीको बारेमा केही जानकारी बाहिर नआएपनि ४०० देखि ५०० किलोमिटरसम्म रेन्ज हुने अनुमान गरिएको छ । कर्भमा फ्रन्ट ह्वील ड्राइभ स्ट्याडर्डको रुपमा रहने छ ।
टाटा र महिन्द्राले ल्याउँदै गरेको दुबै ईभीले ग्लोबल एनक्याप सेफ्टी रेटिङमा ५ स्टार स्कोर पाउने गरी बन्ने जनाएका छन् ।

