काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गर्दा त्रुटी गरेको भन्दै भन्सार कार्यालयलेहरुले रोकेको गाडी आयात खुल्ला भएको छ । आज मन्त्रालयले पुनः राजपत्रमा सुचना प्रकाशनगरी आयातको बाटो खोलेको हो ।
असार मसान्तको दिन सरकारले प्रकाशित गरेको सुचनामा बैशाख १३ गते अगाडि एलसी खोलेका गाडीको आयातको विषयमा केही नबोलेको भन्दै भन्सार कार्यालयहरुले भन्सार पास रोकेका थिए ।
यो पुरै घटनामा सरकारले ब्यवसायीलाई दुःख दिएको र डेम्रेज चार्जसमेत बढाएको भन्दै ब्यवसायीहरुले रोष प्रकट गरेका थिए । यही विषयमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरुले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, भन्सार विभागका प्रमुख लगायतका उच्च अधिकारीलाई भेटेर आफ्नो समस्या राखेका थिए ।
‘अनावश्यक तरिकाले धेरै खर्च बढाउने काम भयो । यसरी सामान्य विषयलाई जटिल बनाएर सरकारले ब्यवसायीक बातावरण विथोलेको छ । यद्यपि, सबैको प्रयासले भोलिबाट गाडी आउने बाटो खुल्ला भएको छ’, नाडा अध्यक्ष ध्रुब थापाले मेरोअटोसँग भने ।
नाडाले नयाँ गाडी खोल्ने बाटो बनाउन सरकारसँग माग पनि गर्दै आएको छ । चाडपर्व मुखैमा आएकोले हाम्रो व्यवसाय बचाउन र नागरिकको माग सम्बोधन गर्न पनि गाडी आयात खुल्नु पर्ने आफुहरुको धारणा रहेको अध्यक्ष थापाले बताए ।
नाडाले नयाँ गाडी मगाउने बाटो खोल्न आग्रह गर्दै आएको भएपनि भदौ १४ गतेपछि पनि आयात खुल्ने वा नखुल्ने विषयमा अहिले केही भन्न सक्ने अवस्था छैन ।


