काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले जगुअर ल्यान्ड रोबर (जेएलआर) को स्वामित्व लिएको एक दशक पछि उसको साना सवारीको वार्षिक बिक्री १० लाख नाघेको छ ।
२०१८ को मार्चमा अन्त्य भएको आर्थिक वर्षमा उक्त रेकड कायम भएको कम्पनीको ब्यालेन्ससिटमा देखिएको छ । जुन टाटाको अहिलेसम्मकै धेरै बिक्री हो ।
टाटा मोटर्स कारोवार रकमका आधारमा भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीसमेत हो । गतवर्ष कम्पनीको आम्दानी १३ प्रतिशतले वृद्धि भएको छ, जुन विगत ५ वर्षयताकै धेरै हो । जेएलआरले भारत सहित अन्य विश्व बजारमा पनि राम्रो छवी बनाउँदै लगेपछि टाटालाई त्यसको फाइदा हुँदै गएको देखिन्छ ।
जेएलआरका सवारीले जर्मन सवारी निर्माता मर्सिडिज, बीएमडब्लू, अडीसंग प्रतिस्पर्धा गर्न सकिरहेकाले पनि टाटाको सवारी बिक्री उत्साहजनक देखिएको हो ।
भारतको आन्तरिक बजारमा टाटाले साना सवारी बिक्रीमा पुनरागमन गरेको छ । गतवर्ष टाटाको साना सवारी बिक्री २० प्रतिशतले बढेको हो । गतवर्ष टाटा मोटर्सले होन्डा कार इन्डियालाई उछिनी चौथो स्थानमा उक्लिएको छ । यो वर्ष तेस्रो स्थानमा पुग्ने लक्ष्य कम्पनीले लिएको छ ।
१० लाख साना सवारी बिक्री बढ्नुमा धेरै हिस्सा जेएलआरको रहेको छ । गतवर्ष जेएलआरको ६ लाख ३३ हजार कार बिक्री भएको थियो । भारतीय बजारमा प्यासेन्जर कार तथा पिकअपलगायत साना ट्रकको बिक्री बढ्दा टाटा मोटर्सलाई त्यसको सबैभन्दा बढी फाइदा भएको हो ।

