टियागो ईभीले देखाएको अबको बाटो…

काठमाडौं । टाटाले नाडा अटो शोबाट आफ्नो सर्वाधिक प्रतिक्षा गरिएको मोडल टियागो ईभी बिक्री सुरु गर्यो । टियागो नेपाली बजारको लागि नयाँ भएर प्रतिक्षा गरिएको मोडल थिएन ।

नेपालमा विगत ७ वर्षदेखि उपलब्ध टियागो ईभीमा आउने भएको कारण धेरैले प्रतिक्षा गरेका थिए । यसको मूल्य, ब्याट्री साइज र मोटर कस्तो हुन्छ भन्ने विषय धेरैको कौतुहलताको विषय थियो । त्यसमा पनि एमजी र सेरेसले नयाँ मिनी ईभी नेपालमा बिक्री सुरु गर्ने समयमा नै यो नेपाल आएको कारण धेरैलाई चासो हुनु स्वभाविक हो ।

भयो पनि त्यस्तै नाडा अटो शोमा सर्वाधिक बुकिङ भएको मोडल बन्न सफल भयो टियागो ईभी । हामीले स्टल वरपर बसेर टाटाको गाडी बुकिङ गर्ने ग्राहकलाई सोधेका थियौं कुन गाडी किन्नु भयो भनेर । टियागो धेरैको एउटै उत्तर थियो ।

करिब ३५० जनाले टियागो बुकिङ गरेको हाम्रो अनुमान छ । यसको आधिकारीक फिगर भने सिप्रदीले कहिल्यै दिने छैन । किन भने कुनै पनि ब्राण्डले विगतदेखि नै एकिन तथ्यांक दिने चलन नै हामीकहाँ छैन ।

अबको बाटो

मिनी ईभी, ह्याचव्याक र प्रिमियम ह्याचव्याक होस् वा क्रसओभर कार सबैको रोजाईमा इलेक्ट्रीक साधन नै पर्ने देखियो । नाडा अटो शोमा टाटा टियागो, सेरेस ई-१ र सेरेस-३, नेटा भी र यू, सिट्रोन सी–३, ओरा गुडक्याट, बीवाइडी डल्फीन र एटो-३, एमजी कोमेट, जेडएस ईभी र एमजी-४मा झुम्मिएका ग्राहकले ईभी अबको भविष्य हो भन्ने कुरालाई प्रमाणित गर्छ ।

साथै, यस वर्षको नाडा अटो शोमा भएको बुकिङलाई मात्रै केलाएर हेर्ने हो भने साना र सस्ता इलेक्ट्रीक कार धेरैको रोजाईमा परेको छ । यसलाई विद्युतीयमा जाने मानिसको तिब्र चाहना र बजेट पनि धेरै खर्च गर्न नसक्ने अवस्थालाई चित्रित गर्छ ।

सेकेन्ड ह्याण्ड बजारलाई ठूलो धक्का

अटो शोमा देखिएको ट्रेन्डले के देखाउँछ भने रिकन्डिसन हाउसबाट १५ लाखदेखि ४० लाख मूल्यसम्मका गाडी किन्ने योजना बनाएका अधिकांश मानिसले अटो शोमा विद्युतीय गाडी बुकिङ गरेका छन् । यसले सेकेन्ड ह्याण्ड बजारलाई ठूलो धक्का लागेको छ ।

चावहिलका सन्तोष भट्टले ईभी बुकिङ गरेपछि भने, ‘सेकेन्ड ह्याण्ड गाडी किन्ने योजना बनाएको थिए । मेरो बजेट ३० लाख थियो । त्यो भित्रै रहेर मैले नयाँ ईभी किन्न पाउने भएपछि अर्को विकल्पमा सोचिन । करिब ८ वर्ष ढुक्क हुने अवस्था देखियो । त्यसैले ईभीमा नै गए ।’

भट्ट जस्तै धेरै मानिसले रिकन्डिसनमा खर्च गरेर पेट्रोल कार किन्नुभन्दा इलेक्ट्रीक कार किन्नु ठिक लागेर बुकिङ गरेको हामीले पायौं । त्यसैले हाम्रो अनुभवले अवको दुई वर्ष भित्रै नेपालमा ८० प्रतिशत हाराहारी विद्युतीय साधनको कारोबार हुने देखेको छ ।


Back_to_top