काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले मोडल थ्रीको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने भएको छ । फेसलिफ्ट मोडल अहिले परीक्षणका क्रममा देखिएको हो ।
सन् २०२४ बाट विक्री सुरु हुने टेस्ला मोडल थ्री अघिल्लो मोडलको तुलनामा निकै परिमार्जन भएर आउने अनुमान गर्न सकिन्छ । यसमा फरक आकारको हेडल्याम्प, स्मुथ एयर इन्टेक, नयाँ फ्रन्ट बम्पर, पुनः डिजाइन गरिएको रियर बम्पर लगायत समावेश गरिएका छन् ।
कम्पनीले नयाँ अपडेटेड टेस्ला ईभीको मिररमा पनि सामान्य परिवर्तन गर्ने जनाएको हो । यसमा स्लिम होरिजेन्टल हेडल्याम्प पनि पाउन सकिन्छ । अघिल्लो मोडलमा दिइएको फग लाइट नयाँ मोडलमा हटाइएको छ ।
त्यस्तै, फ्रन्ट बम्परको बीच भागमा एउटा र साइड भागमा एकएक वटागरी कुल तीनवटा क्यामेरा थप गरिएको छ । कम्पनीले टेस्लाको अटो पाइलटलाई थप सुधार गरेर ल्याउने अपेक्षा गर्न सकिन्छ ।

फेसलिफ्ट टेस्ला मोडल थ्री अमेरिकी स्ट्यान्डर्ड रेन्ज आरडब्लुडी, लङ रेन्ज एडब्लुडी र पर्फर्मेन्स एडब्लुडी गरी तीन भेरियन्टमा उपलब्ध हुने छ । यी गाडीको टप स्पीड क्रमशः २२५, २३३ र २६० किलोमिटर प्रति घण्टा हुने कम्पनीको दाबी छ ।
यसमध्ये, मोडल थ्री युएस स्ट्यान्डर्ड रेन्ज आरडब्लुडीले सिङ्गल चार्जमा ४२९ देखि ४३७ किलोमिटर, लङ रेन्ज एडब्लुडीले ५३७ देखि ५७६ किलोमिटर र पर्फर्मेन्स एडब्लुडीले ५०६ किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ ।
टेस्लाले नयाँ मोडल थ्री अमेरिकामा भने यही वर्षबाट नै विक्री वितरण सुरु गर्ने अपेक्षा गरिएको छ । यसको मुख्य प्रतिस्पर्धी हुन्डाई आयोनिक सिक्स, फक्सवागेन आइडी सेभेन लगायतका मोडल हुन् ।
नयाँ टेस्ला मोडल थ्रीको मूल्य ४५ हजार अमेरिकी डलरबाट सुरु हुने अपेक्षा गरिएको छ ।


