दुर्घटनापछि टेस्ला मोडल वाइमा आगलागी, ईभी सुरक्षामा नयाँ बहस

काठमाडौं । चीनको जी५० सांघाई-छोङछिङ एक्सप्रेसवेमा भएको एक सडक दुर्घटनापछि टेस्ला मोडल वाइमा आगलागी भएको छ । टेस्लामा आगलागी हुँदा कार चालकलाई भने अर्को विद्युतीय कारका चालकले जोखिम मोलेरै भएपनि सकुशल उदर गरेका छन् ।

चिनियाँ सञ्चारमाध्यम आइफिङका अनुसार भारी वर्षापछि सडकमा जमेको पानीका कारण टेस्ला मोडल वाइ अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएको थियो । ठक्कर लगत्तै गाडीको ब्याट्रीमा तीव्र तापीय प्रतिक्रिया (थर्मल रनअवे) सुरू भई आगलागी भएको बताइएको छ ।

दुर्घटनापछि त्यही सडकबाट गुज्रिरहेका ली अटो आइसीक्सका चालकले आफ्नो गाडी रोकेर टेस्लाभित्र रहेका चालकलाई बाहिर निकालेका थिए । चालकको उद्धार भएको केही क्षणमै टेस्लामा आगो तीव्र रूपमा फैलिएको थियो ।

घटनास्थलमा पुगेको दमकल टोलीले आगो नियन्त्रणमा लिए पनि गाडी पूर्ण रूपमा जलेर नष्ट भएको थियो । दुर्घटनामा गाडीको संरचनाले केही समयसम्म केबिनको ठाउँ सुरक्षित राखेकाले चालकलाई बाहिर निकाल्न सम्भव भएको थियो । अटो विशेषज्ञहरूका अनुसार उच्च गतिमा हुने दुर्घटनापछि ब्याट्रीमा आगलागी हुँदा चालकलाई छिटो उद्धार गर्न सक्नु जीवन र मृत्यु बीचको महत्वपूर्ण अन्तर मानिन्छ ।

यस्ता वास्तविक दुर्घटनाबाट प्राप्त तथ्यांकका आधारमा अटो निर्माता कम्पनीहरूले ब्याट्री सुरक्षा, संरचनात्मक मजबुती र दुर्घटनापछि आगो फैलिन नदिने प्रविधिमा थप सुधार गर्नु पर्ने देखिएको छ ।

उद्धार गर्ने व्यक्ति चीनको हुजोउ क्षेत्रका स्थानीय बासिन्दा रहेको र उनी परिवारका सदस्य तथा चिनजानका व्यक्तिलाई लिएर यात्रा गरिरहेका बेला दुर्घटना देखेपछि तत्काल सहयोग गर्न पुगेको बताइएको छ ।

यस घटनाले विद्युतीय सवारीमा ब्याट्री सुरक्षा, दुर्घटनापछिको आगलागी जोखिम तथा चालकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने संरचनात्मक डिजाइनबारे पुनः बहस सुरू गराएको छ ।


Back_to_top