हेलमेट नलगाइ मोटरसाइकल चलाउने मुख्यमन्त्रीकाे घरमै गएर काटियाे चिट

काठमाडौं । हेलमेट नलगाइ मोटरसाइकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुरमा शाहलाई उनको निवासमै पुगेर चिट काटेको हो । उनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को व्यवस्था अनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएकोमा ५०० रुपैयाँको चिट काटिएको हो ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले शाहले आफ्नो निवास परिसरमा हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ टिकटकमा हालेको थिए । उक्त भिडियो सामाजिक संजालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो । त्यसपछि ट्राफिकले शाहको घरमै पुगेर कारबाही गरेको हो ।

सवारी ऐन २०४९ मा मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । यदि हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार, त्यसपछि १ हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।


Back_to_top