५३ किलोवाट आवरको ब्याट्रीमा टेस्लाको सानो कार

काठमाडौं । अमेरिकी ईभी उत्पादक कम्पनी टेस्लाले आफ्नो इन्ट्री लेभल मोडल बजारमा ल्याउने चर्चा निकै अघि सुरु भएको थियो । मार्च १ मा कम्पनीले आफ्नो आगामी रणनीति तय गरेसँगै इन्ट्री लेभल मोडल ५३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीमा आउने भएको हो ।

विश्वभर आफ्नो बजार विस्तार तिब्र गतिमा भएसँगै टेस्लाका सीईओ इलन मस्कले यसअघि नै नयाँ मोडल ल्याउने योजना तयार भएको घोषणा गरेका थिए । चीन र जर्मनीमा नयाँ प्लान्ट संचालनमा आएसँगै टेस्लाको उत्पादन क्षमता विस्तार भएको थियो । यस्तोमा कम्पनीले नयाँ ३ मोडलको तयारी थालेको जनाएको छ ।

सानो ह्याचव्याक र दुई ठूला एसयूभी बजारमा ल्याउने योजनासहित कमर्शियल सेग्मेन्टलाई पनि तिब्र विस्तार गर्ने योजना टेस्लाले अगाडि सारेको हो । कम्पनीले ल्याउने ठूला कमर्शियल बस र ट्रकहरु निकै लामो रेन्ज दिन सक्ने क्षमता राख्नेछन् । त्यसको लागि कम्पनीले ३०० देखि ८०० किलोवाट आवर क्षमता ब्याट्री प्रदान गर्नेछ ।

टेस्लाले मेक्सीकोमा बनाई रहेको नयाँ गिगा फ्याक्ट्रीबाट वार्षिक २० लाख यूनिक कार उत्पादन क्षमता रहने छ । त्योसँगै टेस्लाको जडित उत्पादन क्षमता ४० लाख यूनिट प्रतिवर्ष पुग्नेछ । यसले टेस्लाको कार विक्रीमा नयाँ उचाई छुने कम्पनीले दावी गरेको छ ।

विश्व बजारमा डिलर सिप मोडलमा अहिलेसम्म काम नगरेको टेस्लाले अबको दिनमा कसरी आफ्नो नेटवर्क विस्तार गर्नेछ, त्यो हेर्न भने निकै रोचक हुनेछ । नेपालमा अरेटी इन्टरनेशनल प्रालिले टेस्लाका कार ल्याएर विक्री वितरण गर्दै आएको छ ।


Back_to_top